
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ महतो टोलमा करेन्ट लागेर सोमबार दिउँसो एक जना महिलाको मृत्यु भएको छ ।
करेन्ट लागेर ५० वर्षीया मंगलीदेवी मेहताको मृत्यु भएको मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालले बताए । उनका अनुसार आफ्नै घरको कलमा जोडेको मोटरबाट ‘बिजुली लिक’ भएर दिउँसो १२ः५० बजेतिर मेहतालाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बायाँ हातमा अचानक करेन्ट लागेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएर घटनाको थप अनुसन्धान अघि बढाएको छ ।



















