निजी क्षेत्रलाई अर्थमन्त्रीको भरोसा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार १३:५७

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन् । सरकारद्वारा केही व्यवसायीमाथि पक्राउ र अनुसन्धान अघि बढेपछि निजी क्षेत्रमा त्रास देखिएको छ ।

उक्त त्रासलाई सम्बोधन गर्दै गर्दै वाग्लेले निजी क्षेत्रलाई भरोसा दिलाउने प्रयत्न गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सोमबार सम्बोधन गर्दै उनले इमान्दार व्यवसायीले डराउनुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे । उनका अनुसार हाल भइरहेका अनुसन्धान नयाँ नभई पहिले नै सुरु भएर राजनीतिक प्रभावका कारण रोकिएका पुराना फाइलहरू मात्र पुनः सक्रिय गरिएका हुन् ।

‘अनावश्यक संशय लिनु पर्दैन । धरकपड हुन्छ भन्ने सोच्नु पर्दैन,’ अर्थमन्त्री वाग्लेले भने, ‘अहिले नयाँ अनुसन्धान होइन । पुराना थन्किएका फाइलहरू अघि बढाइएका हुन् । इमान्दार व्यवसायीले डराउनुपर्ने अवस्था छैन ।’ तर, उनले व्यवसायीको आवरणमा गैरकानुनी गतिविधि भेटिएमा कानुनी कारबाही हुने स्पष्ट चेतावनी पनि दिए ।

राज्यले कानुनी राज्यको सिद्धान्तअनुसार काम गर्ने भएकाले कसैलाई पनि उन्मुक्ति नदिने उनको भनाइ थियो । अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड भन्दै देशको विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा यसको भूमिका निर्णायक हुने बताए ।

उनले नेपाललाई करिब १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य सरकारले राखेको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्रको साथ अनिवार्य रहेको बताए । उनका अनुसार यो लक्ष्य हासिल गर्न करिब सात वर्ष लाग्न सक्ने अनुमान गरिएको छ । त्यस अवधिमा लगानी विस्तार, निर्यात वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिनेछ ।

सरकारले लगानीमैत्री वातावरण बनाउन नीति सुधार गरिरहेको बताउँदै उनले बजेट निर्माणको क्रममा चुनावी घोषणापत्रका बुँदाहरू पनि समेटिने जानकारी दिए । साथै, मन्त्रिपरिषद्ले निजी क्षेत्रमैत्री नीति निर्माणलाई अघि बढाइसकेको उनले दाबी गरे ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको संरक्षण र प्रवर्धननका लागि रणनीति तयार भइरहेको र यसले दीर्घकालीन आर्थिक स्थायित्वमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.