हर्क साम्पाङले अख्तियारलाई पठाए उटपट्याङ्गे जवाफ

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ११, शुक्रबार १८:४०

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उटपट्याङ्गे जवाफ पठाएका छन् ।

धरानको खानेपानीका विषयमा परेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले माघ २ गते पत्र काटेको थियो । सम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुझ्न र पत्ता लगाउन खोजेको तथ्यभन्दा बाहिर गएर हेलचेक्र्याइँपूर्ण हिसाबले शुक्रबार जवाफ पठाएका हुन् ।

धरान उपमहानगरपालिका र धरान खानेपानी व्यवस्थापन बोर्डको तर्फबाट साम्पाङ आफैंले ‘राय प्रतिक्रिया उपलब्ध गराइएको सम्बन्ध’मा भनेर अख्तियारलाई जवाफ पठाएका छन् । दुवै पत्रमा एउटै बेहोरा उल्लेख गरेर जवाफ दिएको पाइएको छ ।

अख्तियारलाई पठाएको जवाफबाटै साम्पाङले संवैधानिक निकायमाथि खेलाँचीपूर्ण र ठट्यौलो व्यवहार गरेको प्रष्ट हुन्छ । संवैधानिक निकायले गरेको प्रश्नको मर्म र भावनाविपरीत जवाफ पठाएर उनले अपरिपक्व र उरन्ठेउलो व्यवहार प्रदर्शन गरेको सरोकारवाला बताउँछन् । अख्तियारलाई पठाएको जवाफबाटै उनी कानुनसंवत हिसाबले अघि बढ्न चाहेका छैनन् भन्ने तथ्यलाई उजागर गरेको छ ।

साम्पाङले अख्तियारलाई पठाएको जवाफमा भनेका छन्, ‘धरानको खानेपानी बोर्ड स्वयत्त निकाय हो । यसले आफ्नो नगरवासीहरुलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउन सक्छ । नगरवासीहरुलाई सुलभ तरिकाले अटुट रुपमा खानेपानी वितरण गर्नु यस्को एक मात्र उद्देश्य हो ।’ त्यसपछि उनले ट्वाइलेट गएदेखि के के गर्दासम्म पानी चाहिन्छ भनेर व्याख्या गरेका छन् । पानी चौपायालाई पनि चाहिन्छ भनेर जवाफ पठाएका छन् ।

उनले धरानवासीको जीवन बचाउन र चलाउन काम गरेको दाबी गरेका छन् । त्यसपछि उनले ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट पानी ल्याएको विषयलाई उटपट्याङ्गे हिसाबले बेलीविस्तार लगाएका छन् ।

साम्पाङले केन्द्र सरकारले नसुनेकाले थोत्रो गाग्री लिएर सिंहदरबार पुगेको विषयलाई पनि उल्लेख गरेका छन् । ‘केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर वर्षौं बिन्ती बिसाउँदा पनि नसुनेकाले अस्ति थोत्रे गाग्री लिएर सिंहदरवार पुगें। जनतालाई पानी चाहिएको छ। है तत्काल पानी चाहिएको छ। आश्वासन र कागजको खोस्टा हैन । पानी चाहिएको छ के । त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौ । खोइ कुरा बुझ्या ? अब केन्द्र सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभएपछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरुको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलिरहेको छ,’ उनले लेखेका छन् ।

श्रमदान गरेको ठाउँमा हेर्न आउनु भनेर साम्पाङले अख्तियारलाई पनि बोलाएका छन् । त्यति मात्रै हैन, अख्तियारसँगै उनले जवाफसमेत खोजेका छन् । ‘एक दिन आउनु है मुहानबाट धरानसम्म हिँड्दै हिँड्दै पाइप गन्न र ‘प्रोजेक्ट’ हेर्न । कम्त रमाइलो छैन । त्यो वाइयत उजुरी लाउने मान्छेले कतिवटा पाइप किनेर दियो ? कति दिन श्रमदान गर्यो ? को हो त्यो ? बुझेर लेखिपठाउनु होला धरानको कि धरान बाहिरको हो त्यो फटाहा ?,’ साम्पाङले अख्तियारलाई भनेका छन् ।

‘अचम्म लाग्छ यत्रो गर्दा पनि ताली नबजाको देख्दा । राज्यको ढुकुटी खर्चेर बनाए‌को मेलाम्ची, दमक टावर, एनसेल, वाईडबडीजस्ता कुरातिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है नखन्नु । तिर्खाएका मानिसहरुको श्राप लाग्ला । पानी भनेको विकास होइन, जीवनको आधार, मानिसको आधारभूत आवश्यकता हो । पानीमा राजनीति गर्नु हुँदैन । पानी माग्न जनता त्यता आउलान् है फेरि,’ साम्पाङले पठाएको जवाफमा उल्लेख छ ।

उनले अख्तियारलाई जवाफ पठाएको यो दोस्रोपटक हो । यसअघि पुस २६ गते पनि उनले अख्तियारलाई जवाफ पठाउँदै नेपालमा राम्रो काम गर्नेलाई किन खेदेको भन्दै उल्टै प्रश्न गरेका थिए । श्रमदानबाट काम गर्दा पनि अख्तियारले मुद्दा लगाएकोमा आफू छक्क परेको उनको भनाइ थियो ।

साम्पाङविरुद्ध धरानमा श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरु निर्माण र सुम्निमा पारुहाङको मूर्ति निर्माणमा अख्तियारको दुरुपयोग गरी अनियमितता गरेको भन्दै उजुरी परेको छ । यसअघि अख्तियारले धरानका नगरप्रमुख सापाङलाई श्रम संस्कृति पार्कको बारेमा पत्र काटेको थियो ।

यस्तो छ हर्क साम्पाङले अख्तियारलाई दिएको जवाफ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.