
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकामा कर्मचारी सरुवाको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले)का जनप्रतिनिधिबीचको लफडाले उग्ररूप लिएको छ ।
कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधि दलगत एवं स्वार्थपूर्ण हिसाबले विभाजित हुँदा समस्या बढेको हो । आइतबार बिहान इटहरी उपमहानगरपालिकाका कर्मचारी आफैंले केही घण्टा सेवा अवरुद्ध पारे । दलगत हिसाबले जनप्रतिनिधि विभाजित हुँदा कर्मचारी त्यसको फाइदा उठाउने ध्याउन्नमा लागेका छन् ।
यद्यपि, उपमेयरसहित वडाअध्यक्षले कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै कर्मचारीले सेवा अवरुद्ध पारेका हुन् । उपमेयरसहित एमालेका वडाध्यक्षहरुसँग प्रशासन शाखा प्रमुख सञ्जीव खड्काको शुक्रबार भनाभन एवं विवाद भएको थियो । कार्यकक्षमा भनाभन भएपछि जनप्रतिनिधिले खड्कालाई बाहिर निकालेर उनको कार्यकक्षमा ताला लगाइदिएका थिए ।
जनप्रतिनिधिहरुका अनुसार खड्काले वडा कार्यालयको ‘सर्भर’ डाउन गरेपछि विवाद भएको थियो । कर्मचारी र एमालेबाट निर्वाचित जनप्रतिनिधिबीच लफडा हुनुको कारण भने कर्मचारीको सरुवा हो । गत पुस २८ गते मेयर हेमकर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले ७७ जना कर्मचारीको सरुवा गरेका थिए ।
कर्मचारीको सरुवाको निर्णयपछि पौडेल उपमेयर संगीताकुमारी चौधरीलाई कार्यवाहक दिएर बिदा बसे । उनी आइतबार मात्रै कार्यालयमा हाजिर भएका छन् । कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै माघ ३ गते उपमेयर चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्यको बैठकले सरुवाको निर्णय उल्टाएको थियो ।
कर्मचारी सरुवा गर्दा मेयर पौडेलले छलफल नगरी कांग्रेसले नेतृत्व गरेको वडा नम्बर १, ६ र १३ सहितका वडाबाहेक एमालेले नेतृत्व गरेका वडाका कर्मचारीको सरुवा गरेको एमालेका जनप्रतिनिधिको गुनासो छ । उपमेयरले सरुवाको निर्णय उल्टाए पनि प्रशासन प्रमुख खड्काले सरुवा भएको क्षेत्रमा जान भन्दै कर्मचारीलाई दबाब दिएका थिए । कर्मचारीले जान नमानेपछि शुक्रबार वडाको ‘सर्भर’ नै डाउन गरिदिएको स्रोतले बतायो ।
वडाको ‘सर्भर’ नै डाउन गरिदिएपछि विवाद भएको इटहरी–३ का अध्यक्ष उमेश सुवेदी बताउँछन् । ‘यो सरुवाको बेला होइन । मेयरले आफू अनुकूल सरुवा गरेर बिदा बसेपछि विवाद भएको हो,’ उनले भने । बहुमत सदस्यको बैठकले सरुवाको निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेपनि कर्मचारीमाथि अनावश्यक दबाब दिने काम भएको सुवेदी बताउँछन् ।
वडाको ‘सर्भर’ नै अवरुद्ध गरेपछि प्रशासन प्रमुखसँग शुक्रबार भनाभन भएको सुवेदीले स्वीकार गरे । प्रशासन प्रमुखको कार्यकक्षमा जनप्रतिनिधिले तालासमेत लगाएका थिए । खड्काले प्रशासन सम्हाल्न नसक्ने भएकाले कार्यकक्षमा ताला लगाइएको वडाध्यक्ष सुवेदी बताउँछन् ।
खड्कामाथि उपमेयर चौधरीले दुव्र्यवहार गरेको भन्दै आइतबार करिब २ घण्टा कर्मचारीले काम रोकेका थिए । पुस २८ गतेदेखि बिदा बसेका मेयर हेमकर्ण पौडेल कार्यालयमा हाजिर भएपछि ज्ञापनपत्र बुझाएर कर्मचारी काममा फर्किएका थिए । काममा फर्किएका कर्मचारीले उपमेयर चौधरीलाई लिखित रुपमा माफी माग्नका लागि ‘अल्टिमेटम’ पनि दिएका छन् ।
इटहरीका प्रमुख प्रशासकीय अधिकृत रामरचित्र मेहता राजनीतिक विवादको चेपुवामा कर्मचारी परेको बताउँछन् । ‘सर्भर डाउन’ भएको विषयलाई कुरा गर्न छाडेर जनप्रतिनिधिले कर्मचारीसँग विवाद गरेको उनको भनाइ छ । कर्मचारीले न्याय माग गर्दै ज्ञापनपत्र बुझाएको मेहताले बताए ।
‘सर्भर डाउन’ भएको थाहा भएपछि आफैंले खोल्न लगाएको उनी बताउँछन् । ‘यही विषयलाई लिएर कर्मचारीसँग विवाद गर्नुपर्ने अवस्था थिएन । मैले थाहा पाएको ५ मिनेटमै खोलिदिएँ । कर्मचारीले गल्ती गरेको भए मलाई भन्दा हुन्थ्यो । जनप्रतिनिधिले कर्मचारीसँग झगडा गर्नु राम्रो हैन,’ उनले भने ।
राजनीतिक द्वन्द्वको चपेटामा कर्मचारी परेको मेहताको भनाइ छ । ‘सबैले सम्मान पाउनुपर्ने होइन ? कर्मचारीको कार्यकक्षमा गएर जनप्रतिनिधिले झगडा गर्नु भयो । त्यसले राम्रो सन्देश जाँदैन,’ प्रमुख प्रशासकीय अधिकृत मेहताले भने ।
























