
विराटनगर । सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा कोशी प्रदेशको राजधानी विराटनगरमा कानुनविपरीत भवन निर्माण भइरहेको पाइएको छ ।
विराटनगर महानगरपालिका–४ इक्राहीमा भट्टराईको नाममा स्मृति भवन बनिरहेको हो । भवन बनाउनुअघि सम्बन्धित स्थानीय तहबाट नक्सा पास गराउनुपर्ने हुन्छ । तर, उक्त निर्माणाधीन भवनको हालसम्म नक्सा पास नभएको पत्ता लागेको छ । अर्कोतर्फ सरकारको लगानी रहेको भवन निजी जग्गामा परेको छ ।
विराटनगर महानगरपालिकाको घर नक्सा शाखाका प्रमुख गोपाल पोखरेलका अनुसार हालसम्म भवनको नक्सा पास छैन । ‘अहिलेसम्म कृष्णप्रसाद भट्टराई स्मृति भवनको नाममा कुनै नक्सा पास भएको छैन,’ पोखरेलले भने ।
कानुनी प्रक्रिया पूरा नगरिकन बनाइएको भवनमा भने सरकारको लगानी छ । सरकारकै लगानीमा नक्सा पास नगराइकन भवन निर्माण हुनु सरासर गलत भएको सरोकारवाला बताउँछन् ।
सरकारको ७ करोड रूपैयाँ लगानी भइसकेको स्मृति भवनमा निजी जग्गा पनि परेको छ । सरकारी बजेटबाट संघसंस्थाका भवन बनाउनका लागि बजेट विनियोजन हुँदा संस्थाकै नामको जग्गा हुनुपर्छ । तर, स्मृति भवन बनिरहेको क्षेत्रमा निजी जग्गा पनि पर्छ ।
भवन निर्माणस्थलको ६ कट्टा जग्गा विराटनगर महानगरपालिकाले दिएको ऐलानी जग्गा हो । त्यसबाहेक ४२५ कित्ता नम्बरको ७ कट्ठा ४ धुर निजी परेको छ । ४२५ कित्ता नम्बरको यो जग्गा प्रतिष्ठानका अध्यक्ष रमेशजंग रायमाझीले खरिद गर्ने भन्दै बैना पनि गरेका थिए । तर, भुक्तानी नगरेको जग्गा धनीको गुनासो छ ।
निजी जग्गामा भवन बनाएको गुनासो आएपछि सूचनाको हकका अभियन्ता योगराज दाहालले मोरङ जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयमा तत्कालीन अमाही इक्राही वडा नं. १÷क को कित्ता नम्बर ४२५ र ४२४ को जग्गाबारे विवरण माग गरेका थिए । मालपोत कार्यालयले दिएको जवाफमा सो कित्ता नम्बरको जग्गा निजी तथा व्यक्तिगत भएको उल्लेख छ ।
‘अमाही इक्राही वडा नं. १–क को कि.नं. ४२४ र ४२५ को जग्गाको स्वामित्व कसको नाममा रहेको छ र कति क्षेत्रफलसहित छ ? भनेर सूचना विवरण प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गर्नु भएकोमा उक्त जग्गा निजी तथा व्यक्तिगत जग्गा भएकोले निजी तथा व्यक्तिगत जग्गाको हकमा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा २८ (१) र ऐ. ऐनको दफा ३ को उपदफा ३ (ङ) को व्यक्तिगत गोपनीयता सम्बन्धी प्रावधानलाई समेत ध्यानमा राख्नुपर्ने देखिँदा उल्लेखित कि.नं. ४२५ समेतको जग्गाको माग विवरण उपलब्ध गराउन नसकिएको .ब्यहोरा जानकारीका लागि अनुरोध छ,’ मालपोत कार्यालय विराटनगरले दिएको पत्रमा भनिएको छ ।
४२५ कित्ता नम्बरको ७ कट्ठा ४ धुर जग्गा रिजाल थरका एक व्यक्तिको हो । उनले विराटनगरकै राजेन्द्र खनाललाई वारेसनामा दिएर किनबेचको जिम्मा दिएका थिए ।
प्रतिष्ठानको भवन बनाउनु अगाडि सो जग्गा किन्ने सहमतिपछि कांग्रेस नेता तथा प्रतिष्ठानका अध्यक्ष रायमाझीले बैना रकम दिए । तर, हालसम्म खरिद गरेको कुनै पनि रेकर्डले देखाउँदैन । जग्गा अहिलेसम्म व्यक्तिकै नाममा छ ।
प्रतिष्ठानको नाममा जग्गा नआइकन भवन निर्माणका लागि सरकारले भुक्तानी गरेको पाइएको छ । यो भवन निर्माण गर्न अहिलेसम्म ७ करोड बढी रकम लगानी भइसकेको छ । निर्माण सम्पन्न हुँदा १५ करोड लागत पुग्ने अनुमान छ ।
उक्त भवन निर्माणस्थलमा ६ कट्ठा ऐलानी जग्गाबाहेक ९ कट्ठा निजी जग्गा रहेको रायमाझीले बताए । ‘हामीले जग्गाधनीलाई चेक दिएका छौं । भुक्तानी गरेको रेकर्ड छ । यो विषयमा तपाईंहरू किन लाग्नुहुन्छ ? भवनको उद्घाटन हुँदा धनीपूर्जा ‘सो’ गरे भयो नि होइन र ?,’ रायमाझीले प्रश्न गरे ।
नेपाली कांग्रेस कोशी प्रदेशकी सांसद इन्दिरा थापाले आफ्नो आमाको नाममा धनकुटाको पाख्रीबास नगरपालिका–८ मुगामा रहेको जग्गामा ‘केयर वुमेन नेपाल’को नाममा भवन बनाएकी थिइन् । निजी जग्गामा बनेको भवनमा राज्यले २ करोड लगानी गरेको छ । त्यस विषयमा प्रदेशसभाको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका छन् ।























