
तेह्रथुम । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (सोमबार) तेह्रथुम जान लागेका छन् ।
पार्टीका उपमहासचिव वर्षमान पुनसहित प्रचण्ड २ दिनको कार्यक्रम तय गरेर पूर्वको पहाडी जिल्ला तेह्रथुम जान लागेका हुन् । प्रचण्ड र पुनसहितको टोली सैनिक हेलिकप्टरमा त्यहाँ पुग्ने बताइएको छ ।
प्रचण्ड आज र भोलि (सोमबार र मंगलबार) तेह्रथुममै रहने छन् । विभिन्न कार्यक्रममा सहभागी हुने माओवादीले जनाएको छ । विभिन्न पार्कको अवलोकन, उद्घाटन र शिलान्यासलगायतका कार्यक्रम लिएर प्रचण्ड तेह्रथुम पुग्न लागेका हुन् ।
तेह्रथुम पुग्नेवित्तिकै उनले बसन्तपुर बजारको चोलुङ पार्कको अवलोकन गर्ने छन् । त्यसपछि खाना खाएर लालीगुराँस नगरपालिका–७ लसुनेस्थित सहिद धनरुपा पार्कको उद्घाटन गरी आठराईतर्फ लाग्ने छन् ।
आठराई प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो हो । सशस्त्र संघर्षका क्रममा माओवादीले त्यहाँ ठूलो क्षति पनि बेहोरेको थियो । जहाँ १८ जना माओवादी लडाकु मारिएका थिए ।
प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले सहिद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ । ह्वाकु बगालेमा २०५८ साल माघ १४ गते अर्थात आजैका दिन तत्कालीन शाही नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीको गोली प्रहारबाट १८ जना माओवादी लडाकु र ३ जना सर्वसाधारण गरेर २१ जना मारिएका थिए ।
सामूहिक रूपमा मारिएका उनीहरुकै सम्झनामा सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवन निर्माण गरिएको हो । पाँचथरको गोपेटार प्रहरी चौकी आक्रमणका क्रममा घाइते भएका निःशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहालेर गोली ठोकेको थियो ।
त्यस्तै, प्रचण्डले आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कसमेत अवलोकन गर्ने माओवादीले जनाएको छ । राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्ने तय भएको छ ।
प्रचण्डले मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने बताइएको छ । त्यसपछि उनले कन्दङवाको सालिक अनावरण गर्ने माओवादीका नेताहरुले बताएका छन् ।
प्रचण्डले मंगलबार दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीका कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिने कार्यक्रम छ । त्यसपछि काठमाडौं फर्कने छन् ।
नेताहरुका अनुसार चुहानडाँडामा रहेको तत्कालीन शारदा माध्यमिक विद्यालयमा शिक्षकको नियुक्ति लिएर प्रचण्ड पहिलोपटक तेह्रथुम पुगेका थिए । माओवादीको सशस्त्र विद्रोह सुरु हुनुअघि पञ्चायतको अन्तिम समयतिर प्रचण्ड त्यहाँ पुगेका हुन् ।
नियुक्तिपत्र लिएर तेह्रथुम पुगे पनि उनले त्यहाँको विद्यालयमा पढाएनन् । सदरमुकाम म्याङलुङसम्म पुगेका उनी विद्यालय धेरै टाढा र विकट ठाउँमा रहेको थाहा पाएपछि फर्किएको नेताहरु बताउँछन् । विकटमा विद्यालय रहेको भनेर नपढाइकन फर्किएका उनले पछि माओवादी सशस्त्र संघर्ष सुरु गरेर त्यसको नेतृत्व गरेका हुन् ।

























