विराटनगर महानगरले असुल्यो मृत बुवाआमाको नाममा लिएको भत्ता

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १४, सोमबार १८:५३

विराटनगर । विराटनगर महानगरपालिकाले १ जना व्यक्तिले मृत बुवाआमाको नाममा लिइरहेको भत्ताबापतको रकम असुलेको छ ।

महानगरले विराटनगर–५ का ५८ वर्षीय केशव ढकालबाट उक्त रकम असुल गरेको हो । केशवले बुवाआमाको मृत्यु भइसक्दासमेत उनीहरुको नामको सामाजिक सुरक्षा भत्ताबापतको ज्येष्ठ नागरिक भत्ता बुझिरहेको समाचार गत असोज ४ गते मुलुकी खबरले सार्वजनिक गरेको थियो ।

उनका बुवा गोविन्दबहादुर ढकाल र आमा सानुमाया ढकालको यसअघि नै मृत्यु भइसकेको थियो । बाबुआमाको संरक्षक बसेर केशवले मृत्यु दर्ता नगरिकन भत्ता लिइरहेका थिए । भत्ताबापत लिएको ५ लाख २१ हजार ४ सय रूपैयाँ उनले करिब १ महिनाअघि फिर्ता गरेको महानगरको कानुन शाखा प्रमुख शारदा थपलियाले जानकारी दिइन् ।

‘भत्ताबापतको रकम अवैध हिसाबले लिइरहेको पाइयो । सरकारी बाँकी सरह असुलउपर गर्ने निर्णय महानगरले गरेको थियो । त्यसपछि उहाँले रकम फिर्ता गरिनसक्नु भएको छ,’ उनले भनिन् ।

कोही कसैको मृत्यु भएमा ३५ दिनभित्र वडा कार्यालयमा मृत्यु दर्ता गराउनुपर्ने व्यवस्था छ । तर, केशवले बुवा र आमाको मृत्यु दर्ता गराएनन् । जीवितै रहेको भनेर लामो समयदेखि भत्ता बुझिरहेको पाइएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि घटना बाहिर आएको थियो । आर्थिक वर्ष २०८१/०८२ का लागि बायोमेट्रिक विवरणसहित लाभग्राहीको नवीकरण गर्न राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने भनेर संरक्षकलाई जानकारी गराउँदा बाबुआमाको मृत्यु भइसकेको भनी शंकास्पद कुरा गरेकाले वडा कार्यालयबाट स्थलगत सरजमिन गरिएको थियो ।

 

त्यस क्रममा केशवका बाबुको करिब ११ वर्ष र आमाको ४ वर्ष पहिला नै मृत्यु भइसकेको पत्ता लागेको वडाध्यक्ष सन्तोष न्यौपानेले बताए । उनका अनुसार वडा कार्यालयले केशवलाई कारबाहीका लागि भनेर महानगरको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखामा सिफारिस गरेको थियो ।

मृत बुवाआमाको नामको भत्ता बुझ्दै आएका केशव ढकाल ।

केशवले बुवाआमा अति अशक्त अवस्थामा रही हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको भनी प्रत्येक आर्थिक वर्षमा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गरेर बैंकबाट रकम बुझ्ने गरेको महानगरको टिप्पणी आदेशमा उल्लेख छ । झुटो विवरण पेस गरी संरक्षक, माथवर वा स्याहार गर्ने व्यक्तिले भत्ता दुरुपयोग गरेको पत्ता लागेको हो ।

सामाजिक सुरक्षा ऐन, २०७५ को दफा २१ को उपदफा २ मा त्यस्ता व्यक्तिले लिएको रकम असुल गरी बिगो बराबर जरिवाना गर्नुपर्ने व्यवस्था छ । मृत्यु पुष्टि भएको मितिदेखि लिएको भत्ता यकिन गरेर सरकारी बाँकी सरह असुलउपर गर्नुपर्ने कानुनी व्यवस्था रहेको थपलियाको भनाइ छ ।

सरकारले ७० वर्षमाथिकालाई मासिक ४ हजारका दरले भत्ता दिन्छ । वडा कार्यालयमार्फत हरेक ३ महिनामा भत्ता वितरण हुन्छ । अति अशक्त र वृद्धको हकमा संरक्षक बस्न पाउने व्यवस्था छ । कार्ड नवीकरणदेखि भत्ता बुझ्नेसम्मको अधिकार संरक्षकलाई हुन्छ । भत्ता लिने व्यक्ति स्वयं वडा र बैंकमा उपस्थित हुनु पर्दैन ।

सामाजिक सुरक्षा कार्डको नवीकरण र भत्ता वितरण वडाबाटै हुन्छ । कार्डको नवीकरण प्रत्येक वर्ष साउनमा गरिसक्नुपर्छ । केशवले भने काजकिरिया गर्न पैसा नभएकाले बुवाआमाको नामको भत्ता लिएको दाबी गर्दै आएका थिए ।

मृत बुवाआमाको नाममा भत्ता

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.