
विराटनगर । मोरङको बूढीगंगामा रहेको कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाइ सुरु भएको छ ।
विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल’अन्तर्गत व्यावस्थापन कानुन ‘बीबीए एलएलबी’ स्नातक तहको पढाइ औपारिक रूपमा सोमबारदेखि सुरु भएको हो । विश्वविद्यालयले कानुन अध्यन गर्न भर्ना भएका ‘बीबीए एलएलबी’ तहका विद्यार्थी र उनीहरुका अभिभावकलाई औपचारिक रूपमा अभिमुखीकरण गराएको छ ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले समयसान्र्दभिक प्रविधिले दक्ष र आत्मनिर्भर कानुन व्यावसायी उत्पादनमा देशमै पहिलोपटक ५ बर्से ‘बीबीए एलएलबी’को पाठयक्रम तयार गरेर पढाइ सुरु गरेको जानकारी गराए । उनले व्यावस्थापनसहितको व्यवहारिक ज्ञान दिएर दक्ष कानुन व्यावसायी उत्पादन गर्नु विश्वविद्यालयको लक्ष्य रहेको उल्लेख गरे ।
उपकुलपति पोखरेलका अनुसार देशमै पहिलोपटक मनमोहन विश्वविद्यालयले मात्र सुरु गरेको ‘बीबीए एलएलबी’ ५ बर्से पाठक्रयमले सैद्धान्तिक र प्रयोगात्मक दुवै विषयमा जोड दिने बताए । ‘मनमोहन ईन्स्टिच्युट अफ ल’ का प्रिन्सिपल कोषराज न्यौपानेले देशको न्यायप्रणालीमा दक्ष जनशक्तिको खाँचो पूरा गर्न विश्विद्यालयले व्यावस्थापन कानुनको पाठयक्रम देशी विदेशी विज्ञहरुबाट तयार गराएर पढाइ सुरु गराएको जानकारी दिए । उनले एक महिनाभित्रै मनमोहनमा अपराध काननुमा स्नातोकोत्तर तहको ‘एलएलबी’ कक्षा पनि सञ्चालनमा आइसक्ने बताए ।
मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. नारायणप्रसाद सँग्रौलाले सीप र संस्कारयुक्त विद्यार्थी उत्पादन गर्नसके मात्र व्यवहारमा खत्रो उत्रन सफल हुने बताए । निमित्त परीक्षा नियन्त्रक भीमप्रसाद काफ्लेले मनमोहनले परीक्षा सम्पन्न भएको १ महिनाभित्र सबै संकायको परीक्षाफल प्रकासित गर्ने गरेको र आगामी दिनमा पनि त्यसलाई कायम राख्ने बताए । काफ्लेले परीक्षाको मर्यादा र समयसीमालाई मनमोहनले कहिल्यै हेलचेक्रायाइँ नगर्ने उल्लेख गरे ।
विद्यार्थी अभिमुखीकरण समारोहमा विश्वविद्यालयक प्रशासन अधिकृत गीता लम्साल, पुस्तकालय विज्ञ टीका निरौला, अस्पताल व्यावस्थापन कार्यक्रम संयोजक प्रतीक्षा रेग्मी , कानुनविज्ञ गोविन्द न्यौपानेलगायतले विद्यार्थीहरुलाई सफलताको शुभकामना दिए । कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले स्थापना भएको ४ वर्षमै आवश्यक कानुन, नियमावली र निर्देशिका निर्माण गरी सेवा आयोग, परीक्षा कार्यालय, ३ वटा स्कुलहरु स्थापना गरी विभिन्न विषयमा पठनपाठन गराउन थालेको छ ।
हालसम्म मनमोहनमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स विषयमा स्नातक तेस्रो वर्ष, बी फार्मको स्नातक तह दोस्रो वर्ष, अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर पहिलो वर्ष र कानुन विषयमा स्नातक पहिलो वर्षको पढाइ सञ्चालन गरिरहेको छ । प्राकृतिक योग चिकित्सासहित अन्य विभिन्न विषयमा स्नातक, स्नातकोत्तरदेखि पीएचडीसम्मको पढाइ सुरु गरेको मनमोहनको लक्ष्य छ ।

























