
काठमाडौं । सर्वोच्च अदालतले थप चार जना नयाँ न्यायाधीश पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसअनुसार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् । उनीहरू यसअघि उच्च अदालतमा मुख्य न्यायाधीश तथा न्यायाधीशका रूपमा कार्यरत थिए ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नियुक्तिका लागि सिफारिस भएका उनीहरूको नाम यसअघि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेको थियो । त्यसपछि राष्ट्रपतिबाट नियुक्ति प्रक्रिया पूरा भएको हो ।


























