
विराटनगर । कोशी प्रदेश सरकार बजेट खर्चमा कमजोर देखिएको छ । चालु आर्थिक वर्ष २०८१ / ८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट विनियोजन भएको थियो । पुससम्म ६ महिनाको अवधिमा ८ अर्ब ८७ करोड ७६ लाख २० हजार रुपैयाँ खर्च भएको हो । यो खर्च २४.८५ प्रतिशत मात्रै हो ।
सरकारले अब ६ महिनामा खर्च गर्नुपर्ने बजेट २६ अर्ब ४१ करोड १६ लाख ७९ हजार ८४१ रुपैयाँ छ । पछिल्लो ६ महिनामा खर्च भएको रकममा चालु खर्चको हिस्सा ठूलो छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार ६ महिनाको अवधिमा ६ अर्ब २० करोड ९६ लाख ७३ हजार रुपैयाँ चालु खर्च भएको छ । ६ महिनाको अवधिमा पूजीगत खर्च भने २ अर्ब ५५ करोड८५ लाख३४ हजार मात्रै भएको छ ।
प्रदेशमा चालु तर्फ १८ अर्ब ७३ करोड ४९ लाख र पूजीगत तर्फ १६ अर्ब ५२ करोड ४३ लाख ९३ हजार रुपैयाँ बिनियोजन भएको थियो ।
प्रदेश सरकारले चालु तर्फ बिनियोजन भएको मध्ये ३३.१४ पूजीगत तफ १५.४८ प्रतिशत बनेट खर्च गरेको छ । कुल बजेटको २४.८५ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ । प्रदेशका आर्थिक वर्षको अन्त्यमा मात्रै बजेट खर्च गर्ने प्रवृति छ ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो दुई ठूला दल मिलेर बनेको दुई तिहाई बहुमतको सरकारले बजेट खर्च गर्न नसकेको बताउँछन् । नयाँ सरकार बनेको ६ महिनाको अवधिमा प्रदेशको विकास खर्च निराशाजनक रहेको उनले बताए ।

























