
विराटनगर । करदातालाई करप्रति थप जिम्मेवार र सचेत बनाउँदै कर प्रणालीलाई पारदर्शी तथा करदातामैत्री बनाउनुपर्ने सन्देशसहित मंगलबार विराटनगरमा विभिन्न कार्यक्रम गरी कर दिवस मनाइएको छ।
‘कर न्याय र सुशासनको सुनिश्चितता: समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कर तिर्नु प्रत्येक नागरिकको कर्तव्य मात्र नभई गौरवको विषयसमेत भएको बताए।
उनले कर सरकारलाई बुझाउनुपर्ने बाध्यकारी शुल्कमा मात्र सीमित नरही देशको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षामा नागरिकले पुर्याउने प्रत्यक्ष योगदान भएको उल्लेख गरे। इमानदारीपूर्वक तिरेको करले नै मुलुकको सुन्दर, समुन्नत र आत्मनिर्भर भविष्यको जग निर्माण गर्ने उनको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी कटेलले कर प्रणालीलाई सहज, सरल र करदातामैत्री बनाउँदै कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख केशवकुमार उप्रेतीले उद्योग, व्यापार तथा लगानीको वातावरण सहज बनाउन करको दायरा विस्तार गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए। राज्य र करदाताबीचको सम्बन्ध अधिकारमा मात्र सीमित नभई सहकार्य र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने उनको भनाइ थियो।
नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्नुको उद्देश्य कर प्रणालीको आधुनिकीकरण र अर्थतन्त्रमा करको महत्त्व अभिवृद्धि गर्नु रहेको उल्लेख गर्दै उप्रेतीले करदातालाई स्वैच्छिक रूपमा कर तिर्न प्रोत्साहित गर्नुपर्ने बताए। करबाट संकलित राजस्व पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा सामाजिक कल्याणका कार्यक्रममा खर्च हुने भएकाले यसको महत्त्वबारे आम नागरिकलाई बुझाउन आवश्यक रहेको उनले बताए।
नियमित र इमानदारीपूर्वक समयमै कर तिर्ने करदातालाई कदर तथा सम्मान गर्दै अन्य नागरिकलाई समेत कर तिर्न प्रोत्साहित गर्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उप्रेतीले जानकारी दिए।
कर दिवसका अवसरमा आयोजित कार्यक्रममा उद्योगी, व्यवसायी, राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले औपचारिक तथा अनौपचारिक क्षेत्रमा व्यवसाय र आयआर्जन गर्ने सबैलाई करको दायरामा ल्याउनुपर्ने, कर प्रशासन र करदाताबीचको सम्बन्ध पारदर्शी तथा विश्वासिलो बनाउनुपर्ने र कर तिर्ने प्रक्रियालाई झन्झटमुक्त बनाउनुपर्नेमा जोड दिएका थिए।



















