
विराटनगर । नेकपा (एमाले)का नेता जीवन घिमिरेले मुलुकको १० बर्से राजनीतिक घटना क्रमको सेरोफेरोमा रहेर ‘कमरेड, हिजो र आज’ लेखेका छन् ।
एमाले केन्द्रीय सदस्य घिमिरे कोशी प्रदेशका पूर्वमन्त्री हुन् । उनले लेखेको ‘कमरेड, हिजो र आज’ नामक पुस्तकको आगामी शनिबार विराटनगरमा विमोचन गरिने भएको छ ।
प्रगतिशील लेखक संघ नेपाल मोरङले आयोजना गर्ने कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पुस्तकको विमोचन गर्ने छन् । घिमिरेले विक्रम संवत २०३६ सालदेखि २०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक तयार गरेका हुन् ।
पार्टी राजनीतिसँग जोडिएका घटनाहरु, सो घटनामा संंलग्न करिव ४ सय पात्रहरुका बारेमा पुस्तकमा समीक्षा गरिएको घिमिरेले बताए । उनका अनुसार ‘कमरेड, हिजो र आज’ स्रोत पुस्तकको हो ।
पुस्तकमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, जननेता मदन भण्डारीलगायत ४ सय पात्रहरु रहेको जानकारी एमाले नेता घिमिरेले दिए । करिब १ वर्ष लगाएर पुस्तक तयार गरिएको उनको भनाइ छ ।
‘पुस्तकले विशेषगरी झापा, मोरङ र सुनसरीको राजनीतिलाई केन्द्रीत गरेको छ । हिजो उच्च योगदान भएका र हाल पछि परेकाहरुको परिचय गराउन कोसिस गरिएको छ,’ घिमिरेले भने । २०३६–०४६ आन्दोलनका समयका पात्रहरुका बारेमा शोध गर्न चाहनेहरुका लागि पुस्तक उपयोगी स्रोत हुने दाबी घिमिरेको छ ।
पुस्तकको विमोचनका अवसरमा पुस्तकमा समेटिएका पात्रहरुलाई सम्मान गरिने जानकारी घिमिरेले दिए ।
























