मोरङमा २ दशकअघिको द्वन्द्वकालीन बम : ‘जसले राखे, उनैले देखाए’

Share this
697shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८१ माघ १७, बिहीबार २०:१४

विराटनगर । माओवादी सशस्त्र द्वन्द्व २०६१ सालतिर उत्कर्षमा पुगेको थियो । सुरक्षाकर्मी र माओवादी लडाकुबीच दैनिकजसो भिडन्त भएर मानवीय एवं भौतिक क्षति भइरहन्थ्यो ।

राजा ज्ञानेन्द्रले मुलुकमा शाही शासन लादेका थिए । माओवादीले राज्य व्यवस्थाविरुद्ध ‘आकाश धर्ती हल्लाउने अभियान’ चलाएर सहर, सदरमुकाम र राजमार्ग केन्द्रित आक्रमण (फौजी कारबाही)लाई तीव्र पार्यो ।

आक्रमणका बेला अन्तबाट थप मद्धतका लागि सुरक्षाकर्मी आउने बाटो बन्द गर्न माओवादी लडाकुले रुख ढालेर सडक अवरुद्ध बनाउने, बम बिछ्याउने, एम्बुस थाप्नेजस्ता काम गर्थे । त्यतिबेला त्यसरी थापिएका एम्बुस (बारुदी धराप)मा परेर धेरै ठाउँमा सुरक्षाकर्मीले ज्यान गुमाएका थिए ।

कतिपय ठाउँमा थापेका धराप माओवादी आफैंले हटाउँथे । कतै बर्सिएर र त्यत्तिकै छाडेर हिँड्थे । कतिपयले युद्धमै ज्यान गुमाउँथे । बम राख्ने नै मरिसकेपछि बम राखेको वा नराखेको यकिन हुँदैन थियो ।

युद्धका बेला राखिएका र छाडिएका, तर पत्ता नलागेका बमहरु विस्फोट भएर अहिले पनि मानवीय एवं भौतिक क्षति बेहोर्नु परिरहेको छ । २०६२/०६३ को जनआन्दोलन सफल भएपछि शान्ति प्रक्रियामा आएको माओवादी पटकपटक सत्ताको नेतृत्वमा पुगिसक्यो । तर, युद्धका क्रममा विभिन्न ठाउँमा राखिएका बम र विस्फोटक पदार्थबाट क्षति पुग्ने त्रासदीपूर्ण घटना रोकिएको छैन ।

सुन्दरहरैँचा –७ मा २ दशकअघिको द्वन्द्वकालीन सिलिन्डर बम डिस्पोज गर्न खटिएको नेपाली सेना ।

गत भदौ १३ गते पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा द्वन्द्वकालीन बम विस्फोट हुँदा घाइते भएका ४ मध्ये २ जना बालबालिकाको मृत्यु भयो । युद्धकालको अवशेषले अहिले पनि निहत्था सर्वसाधारणको ज्यान लिइरहेको छ । बारुदी धराप र सुरुङलाई निमिट्यान्न पार्न सकिएको छैन ।

युद्धकै समयमा २ दशकअघि माओवादीले मोरङको बेलबारीमा तत्कालीन शाही नेपाली सेनाको पोस्ट र इलाका प्रहरी कार्यालय कब्जा गर्ने योजना बनायो । आक्रमणअघि सबैतिरको बाटो ‘ब्लक’ गर्न माओवादी लडाकु खटिए । पूर्व–पश्चिम राजमार्गमा शक्तिशाली बमहरु राखेर धराप थापे ।

राजमार्गका कोही स्थानमा राखिएका बमहरु बेलबारी आक्रमणपछि माओवादीले निकालेर लगे । तर, मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मालती पुलनजिकै राखिएको शक्तिशाली सिलिन्डर बम निकालिएन । लामो समयसम्म त्यहीँ रहयो । विस्फोट भएर ठूलो क्षति भने हुन पाएन । त्यतिबेला इटहरीतिरबाट आउने सुरक्षाकर्मीलाई ‘ब्लक’ गर्न बम राखिएको माओवादीका नेताहरु बताउँछन् ।

‘बेलबारी आक्रमणका बेला राजमार्गमा थापिएका एम्बुस हटाउने क्रममा त्यहाँ (मालती पुलनजिक)को बम निकालिएनछ । युद्धका बेला धेरै कुरामा ध्यान दिनै पाइँदैन थियो । दुस्मनलाई परास्त गर्ने र उनीहरुबाट कसरी जोगिने भन्नेमा हामी केन्द्रित हुन्थ्यौं । त्यो युद्धमा हाम्रो हार भयो । ज्यान जोगाउनतिर लाग्दा बम त्यत्तिकै छुटेछ । बम राख्ने कमाण्डरकै युद्धमा मृत्यु भयो । अरुले थाहा पनि पाएनन्,’ युद्धमै होमिएका एक जना माओवादी नेताले भने ।

नेकपा (माओवादी केन्द्र) मोरङका सहइन्चार्ज खेमराज भट्टराई (दीपक)का अनुसार बेलबारीमा माओवादी लडाकुले २०६१ साल भदौ १४ गते सोमबार राति ११ः४३ बजेतिर आक्रमण सुरु गरेका थिए । तर, उक्त आक्रमणमा माओवादीको पराजय भयो । ‘सुरक्षाकर्मीसँगको दोहोर भिडन्तमा ५ जना हाम्रा साथीहरु (माओवादी लडाकु)ले सहादत प्राप्त गर्नु भयो,’ भट्टराई भन्छन्, ‘८–९ जना घाइते हुनु भएको थियो ।’

माओवादी मोरङका सहइन्चार्ज खेमराज भट्टराई (दीपक) ।

सुरक्षाकर्मीकर्मीतर्फको क्षतिको विवरण भने उपलब्ध भएन । माओवादी र प्रहरी दुवैसँग यसको रेकर्ड छैन । तर, त्यो बेला राखिएको सिलिन्डर बम २ दशकपछि मालती पुलबाट करिब १० मिटर पश्चिममा सुरुङभित्र गत पुस २५ गते फेला पर्यो । मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई बम रहेको सूचना माओवादी नेताले नै दिएका थिए ।

पूर्व–पश्चिम राजमार्ग (एसियन हाई–वे) विस्तार एवं स्तरोन्नतिको काम भइरहेको छ । राजमार्ग विस्तारको क्रममा उत्खनन् गर्दा पड्किनसक्ने जोखिम रहेको भन्दै प्रजिअ भट्टराईलाई सूचना आएको थियो । नेपाली सेनासहितको संयुक्त सुरक्षा फौजले ‘सर्च’ गर्दा ४ वटा सिलिन्डर फेला पर्यो ।

विस्फोटक पदार्थ भरिएको २ वटा सिलिन्डर बम सेनाले डिस्पोज गर्यो । ग्यास भरिएका २ वटालाई थप बुझ्नका लागि भन्दै लिएर गयो । डिस्पोज गर्दा ठूलो आवाज आउनुका साथै वरपर जमिन नै हल्लिएको थियो । शक्तिशाली धमाकाले नजिकै रहेका २ वटा घरको सिसा चर्किएका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशी बम द्वन्द्वकालीन नै भएको बताउँछन् । यो विषय थप अनुसन्धानकै क्रममा रहेको र त्यतिबेलाको क्षतिको विवरण उपलब्ध हुन नसकेको जानकारी उनले दिए ।

डीएसपी वेदप्रकाश जोशी ।

राजमार्गमा द्वन्द्वकालीन बम रहेको सूचना दिने पहिलो व्यक्ति मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का ४५ वर्षीय विष्णुकुमार मगर हुन् । माओवादीका पूर्वलडाकु उनी बम राख्दाका साक्षी थिए । २०५८ सालदेखि तत्कालीन विद्रोही माओवादीमा लागेका मगरको भूमिगत नाम मुक्ति हो ।

‘राजमार्गको बाटो हुँदै हिँड्दा सडक स्तरोन्नति भइरहेको देखें । जेसीबीले बाटो खनिरहेको थियो । यो ठाउँमा राखिएको बम निकालियो कि निकालिएको छैन भनेर म अलमलमा परें,’ उनी भन्छन्, ‘बम राख्ने कमाण्डरले भिडन्तमा सहादत प्राप्त गर्नु भएकाले बम निकालेको छैन भन्ने निष्कर्षमा पुगें । अनि माओवादीका नेता गोपी अछामीलाई सुनाएँ । उहाँकै समन्वयमा डिस्पोजको प्रक्रिया अघि बढेको हो ।’

बम राख्ने कमाण्डरकै मृत्यु भएकाले तत्काल निकाल्न नपाइएको मगरले सम्झिए । ‘त्यो भिडन्तमा हामी ठूलो क्षति बेहोर्न बाध्य भयौं । ज्यान बचाउनतिर लाग्दा बम निकाल्नै पाएनौं । पछि त बिर्सिएछौं पनि । अहिले याद आयो । तत्काल पार्टीको नेतालाई जानकारी गराएँ । २ दशकपछि भएपनि डिस्पोज गर्न सकिएकाले विस्फोट भएर ठूलो क्षति हुन पाएन,’ मगरले भने, ‘बम मैले नै राखेको त हैन । बेलबारी आक्रमणका क्रममा पार्टीकै योजनाअनु्सार तत्कालीन सेनालाई लक्षित गरेर राखिएको हो । पार्टीको सेना भएको हिसाबले त्यो अभियानमा म पनि सरिक भएँ । तर, राजनीतिक घटनाक्रम निक्कै विकसित भइसक्दासमेत त्यतिबेला राखिएको बम अहिलेसम्म किन रहयो भन्ने प्रश्न उठेको छ ।’

बेलबारी युद्धपछि त्यो ठाउँ छाडेर माओवादी जनसेना हिँडेकाले बम राखेको कुरामा ध्यान नपुगेको र बिर्सिएको उनको भनाइ छ । माओवादी शान्ति प्रक्रियामा आएपछि उनले सेना समायोजन रोजेनन् । पार्टीको युवा दस्ता वाईसीएल (योङ कम्युनिष्ट लिग)मा रहेर काम गरे ।

माओवादीका पूर्वलडाकु विष्णुकुमार मगर ।

मगर २०६८ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । लामो समय उतै बसेर स्वदेश फर्किएको २ वर्ष मात्रै हुँदैछ । ‘हामीसँगै युद्ध लडेको १ जना साथी अहिले पनि विदेशमै हुनुहुन्छ । उहाँले पनि त्यहाँको बम निकालेको छैन होला भनेर भन्नु भयो,’ मगर भन्छन्, ‘सबैतिर सोधीखोजी गर्दा नटहाएको थाहा भयो । डिस्पोज गर्ने नेपाली सेनाको टोलीलाई मैले नै राखेको ठाउँ देखाइदिएँ । बम खोज्न सघाएँ ।’

विभिन्न भिडन्तमा परेर बम राख्ने नै मरेपछि कतिपय एम्बुसहरु अझै हटाउन बाँकी रहेको हुनसक्ने मगरको भनाइ छ । ‘द्वन्द्वकालीन बम विस्फोट भएर अझै मान्छे मरिरहेको सुन्दा साह्रै नराम्रो लाग्छ । अरु ठाउँतिर पनि हटाउन बाँकी बमहरु छन् कि भनेर साथीहरुसँग सोधीखोजी गरिरहेको छु,’ माओवादीका पूर्वलडाकु मगर भन्छन्, ‘कतै कुनै ठाउँमा राखेको थाहा भए तत्काल जानकारी गराऔं । सुरक्षा निकायमार्फत डिस्पोज गराएर सम्भावित क्षति हुनबाट जोगाऔं ।’

अहिले सामान्य जीवनयापन गर्नेदेखि विदेश, स्वदेश र अन्तरपार्टीमा भएका सबैलाई युद्धका बेला कतै बम राखेको जानकारी भएमा सूचना दिन आग्रह गरिरहेको उनी बताउँछन् । ‘फौजी कारबाहीका क्रममा तत्कालीन जनमुक्ति सेनाले बम राख्ने गथ्र्यो । कतै बाँकी छन् भने भनिदिउँ भनेर सबैलाई भनिरहेको छु,’ उनले भने ।

अहिले पनि आफू माओवादीमै जोडिएका कारण पार्टीका पूर्वलडाकुदेखि लिएर पुराना नेता कार्यकर्तासँग बुझ्ने काम गरिरहेको उनले बताए । ‘अब द्वन्द्वकालीन वस्तुका कारण क्षति हुन हुँदैन । त्योबाट जोगाउने दायित्व हाम्रै हो । यस्ता चिज कतै छन् कि भनेर खोज्ने क्रम जारी छ । रहेछ भने डिस्पोज गर्नतिर ध्यान दिनुपर्छ,’ उनी भन्छन् ।

‘यदि जीवितै रहेछन् भने पनि लामो समय भइसकेकाले बम राख्नेहरुले नै बिर्सिसके होलान् । कतिपय त्यतिबेलै सहिद भए । कोही छिन्नभिन्न भएर आआफ्नो बाटोमा लागिसके । पहिले नै प्रभावकारी ढंगले डिस्पोज अभियान चलाएको भए अहिले क्षति हुँदैन थियो । यसतर्फ राज्य र पार्टी दुवैले ध्यान नदिएजस्तो लाग्छ,’ मगर भन्छन् । करिब २ दशकअघि बम राखेको कुरा आफ्नो स्मरणमा नभएको भए सडकको काम गर्ने क्रममा विस्फोट भएर ठूलै क्षति हुने उनको भनाइ छ ।

‘बम राखेको समयमा त्यति चहलपहल हुँदैन थियो । राजमार्ग सुनसानजस्तै हुन्थ्यो । अहिले सवारीसाधनको चाप धेरै छ । सडकको कामसमेत भइइरहेको छ । जुनसुकै बेला विस्फोट भएर जे पनि हुनसक्थ्यो । सूचनाले ठूलो क्षति हुनबाट जोगियो भन्ने लाग्छ,’ उनले भने । उनले बमको खोजी र डिस्पोजमा पार्टीका नेता, स्थानीय प्रशासनदेखि सुरक्षा निकायसम्मले सकारात्मक भूमिका खेलेको बताए ।

‘म त्यतिबेला आदेशको पालना गर्ने सिपाही थिएँ । कमाण्डर थिइन । तर, त्यहाँको बम निकालियो कि निकालिएन भनेर जिम्मेवार साथीहरुलाई सोधिरहँदा पनि कसैले बताउन सकेनन् । मलाई खुलदुली रहिरयो । सडक निर्माण कार्य भइरहँदा बमलाई जेसीबीले छोएको भए पड्किएर ठूलो हताहती हुन्थ्यो,’ उनले भने ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं राष्ट्रियसभाका प्रमुख सचेतक गोपी अछामी बमको जानकारी आउनेवित्तिकै आफूले प्रजिअलाई जानकारी गराउँदै थप सहजीकरणका लागि पार्टीका सुन्दरहरैँचा नगर अध्यक्ष दुश्यान्त भट्टराईलाई जिम्मा दिएको बताउँछन् । ‘बाटो बन्दै रहेछ । विस्फोट भएर क्षति पुग्दा राजनीतिक हिसाबले सन्देश राम्रो जाँदैन थियो,’ उनले भने, ‘कुनै प्रेसर पर्नासाथ पड्किने खालको शक्तिशाली बम रहेछ । विस्फोट हुँदा ठूलो दुर्घटना हुन्थ्यो ।’

माओवादी नेता गोपी अछापी ।

संविधानसभा सदस्यसमेत रहेका अछामीले सुरुमा ‘लोकेसन’ हेर्न आफैं गएर त्यसपछि प्रजिअलाई सुनाएको बताए । ‘ठूलो दु्र्घटना हुनबाट जोगियो । विस्फोट भएको भए धेरै मजदुर मर्ने थिए । वरपर क्षति हुन्थ्यो । पहिल्यै सूचना नभएकाले बम निकाल्न सकिएको रहेनछ,’ अछामी भन्छन् ।

द्वन्द्वकालमा बम राखेको र हालसम्म नहटाएको जानकारी कोही कसैलाई भएमा तत्काल सूचना दिएर दुर्घटना एवं क्षति हुनबाट जोगाउनेतर्फ लाग्न उनले आह्वान गरेका छन् । बम, विस्फोटक पदार्थ, हतियारलगायतका घातक वस्तु कतै छन् भने हटाउनुपर्छ भनेर २०७८ सालतिर संसदको राष्ट्रिय सरोकार समितिमा नेपाली सेनासमेतका सुरक्षा निकाय र सरोकारवाला सबैलाई राखेर छलफल चलाइएको जानकारी अछामीले दिए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×