मोरङमा माघ २३ गतेदेखि एचपीभी खोप लगाइँदै 

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २०, आइतबार २०:४४

विराटनगर । मोरङमा पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)’ खोप अभियानको तयारी पूरा भएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

विराटनगरमा आइतबार स्वास्थ्य कार्यालय मोरङले पत्रकार सम्मेलन गरी २ चरणमा हुने एचपीभी खोप अभियानको तयारी पूरा भएको जानकारी दिइएको हो ।

Advertisement

मोरङमा माघ २३ गते पहिलो चरण र माघ २७ गतेबाट दोस्रो चरणको एचपीभी खोप अभियान सुरु हुने खोप अधिकृत उत्सव पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिए । 

मोरङमा ६ देखि कक्षा १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका ६१ हजार १ सय ७ जना किशोरीहरूलाई एचपीभी खोप लगाउने लक्ष्य रहेको पोखरेलले बताए । 

पहिलो चरणमा माघ २३ देखि विराटनगर, लेटाङ, बेलबारी, सुन्दरहरैँचा,  मिक्लाजुङ, बुढीगंगा, ग्रामथान, केराबारीमा खोप लगाइने छ । दोस्रो चरणमा भने माघ २७ गतेबाट पथरीशनिश्चरे, उर्लाबारी, सुनबर्षी, रंगेली, रतुवामाई, कानेपोखरी, धनपालथान, जहदा र कटहरीमा खोप अभियान सुरु हुनेछ । 

मोरङमा सबैभन्दा बढी ६ सय १३ विद्यालयमा खोप केन्द्र रहेको छ । ६१ हजार १ सय ७ मध्ये विद्यालयको खोप केन्द्रहरूबाट ५० हजार ५ सय ९७ जना किशोरीहरूलाई खोप लगाउने लक्ष्य लिइएको पोखरेलले बताए । 

विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १० हजार ५ सय १० जना किशोरी छन् । उनीहरूलाई समुदायस्तरमा स्थापना गरिएको खोप केन्द्रबाट खोप लगाउने तयारी भएको छ । 

त्यस्तै, १ सय ६४ स्वास्थ्य संस्था केन्द्र, ७७ समुदायस्तरमा गरी जम्मा ८ सय ५४ खोप केन्द्रबाट किशोरीहरूलाई खोप लगाइने छ । 

किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन खोप अभियान सञ्चालन गर्न थालेको हो । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेको छ ।

clockप्रकाशित मिति:  २०८१ माघ २०, आइतबार २०:४४
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.