विश्व क्यान्सर दिवस आज, के हो क्यान्सर ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलवार ०७:५३

विराटनगर । विश्व क्यान्सर दिवस आज (मंगलबार) परेको छ । प्रत्येक वर्ष फेब्रुअरी ४ मा विभिन्न सचेतनामूलक कार्यक्रम गरेर नेपालसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।

चिकित्सकका अनुसार क्यान्सर लाग्दैमा डराउनु पर्दैन । प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल बनाउन सकिन्छ । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको विज्ञहरु बताउँछन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए निको पार्न सकिने बताए ।

क्यान्सर लाग्दैमा डराउने र आत्तिने गर्न हुँदैन । रोगबारेको बुझाइ तथा समाजमा गरिएको नकारात्मक चित्रणले गर्दा त्रास बढेको चिकित्सकको भनाइ छ । डा. बुढाथोकी थाइराइड, उच्च रक्तचाप, मधुमेहजस्तै क्यान्सर पनि दीर्घ रोग भएको बताउँछन् । समयमा पहिचान भएर उपचार हुनसक्यो भने क्यान्सर निर्मूल पार्न सकिने उनको भनाइ छ ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्जवल चालिसेले क्यान्सरको तेस्रो र चौथो चरणलाई निको पार्न कठिन भए पनि पहिलो र दोस्रो चरणलाई निर्मूल गर्न सकिने बताए । पहिलो चरणमा रोगको पहिचान हुन सक्यो भने त्यसले कुनै लक्षण र समस्या नदेखाउने उनको भनाइ छ ।

क्यान्सरका पहिलो र दोस्रो चरणका बिरामी धेरैजसोको उपचार सफल भएको उदाहरण पनि छ । तेस्रो र चौथो चरणका बिरामीलाई भने जोखिम रहन्छ । नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुने डा. चालिसेले बताए ।

विश्वको तुलनामा क्यान्सरको उपचार नेपालमा सस्तो रहेको चिकित्सकहरु बताउँछन् । सरकारी अस्पतालमा ४० देखि रु ५० हजारसम्ममा क्यान्सरको शल्यक्रिया हुने डा. चालिसले बताए । निजी स्वास्थ्य संस्थामा ५ लाखसम्म लाग्ने उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी नियमित स्वास्थ्य जाँच गराउँदा प्रारम्भिक चरणको क्यान्सर पत्ता लाग्ने बताउँछन् । क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने उनको भनाइ छ ।

क्यान्सरका ४ चरण हुन्छन् । डा. शाही शून्यदेखि ३ चरणसम्मको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र ४ स्टेजको क्यान्सरलाई नियन्त्रणमा राख्न सकिने बताउँछन् । क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने उनको भनाइ छ । नसर्ने बेलासम्म क्यान्सरलाई उपचार गर्न सकिने उनले बताए ।

क्यान्सर अत्यधिक मद्यमान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणु, वंशाणुगतलगायतले हुने डा. शाही बताउँछन् । उनका अनुसार भातदाल तरकारी र अचार नखाने, बढीजसो फास्टफुड, जंकफुड, पोलेको, सडेगलेका तथा बासी खानेकुरा खाने तथा धुम्रपान, मध्यपान गर्ने र व्यायाम नगर्ने गर्दा क्यान्सरको जोखिम हुन्छ ।

उनले खानपिन, आराम, व्यायाम, धुम्रपान, मध्यपान र मोटोपनाको रोकथामले क्यान्सरलाई कम गर्न सकिने बताए । शरीरको कोष तथा कोषिकाको समूह अस्वभाविक रूपमा वृद्धि हुनुलाई क्यान्सर भनिन्छ । यो एक प्रकारको गिर्खा वा ट्युमर पनि हो ।

कोषको जन्म, विकास, मृत्युसम्मको प्रक्रियालाई नियन्त्रण गर्ने जिन शरीरमा हुन्छ । जिनमा खराबी उत्पन्न भएपछि कोषको अनियन्त्रित वृद्धि हुँदै जाने र अन्त्यमा मानिसमा क्यान्सर लाग्ने डा. चालिसेले बताए । सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन, अखाद्य तत्वले जिनमा खराबी गर्ने उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि क्यान्सरले गराउने कूल मृत्युको करिब एकतिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित व्यायामको कमीले हुने गरेको छ । बाँकी क्यान्सरका कारणमा विकिरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य संक्रमणहरू रहेका छन् ।

विकासोन्मुख देशमा करिब ३० प्रतिशत क्यान्सर हेपाटाइटिस, ह्युमन प्यापिलोमा भाइरस संक्रमणले हुने गरेको छ । ‘ग्लोबोक्यान’ नामक एक सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सरका बिरामी फेला पर्छन् ।

सन् २०२० को तथ्यांक अनुसार क्यान्सरले नेपालमा १६ हजार ६ सय २९ जनाको मृत्यु भएको थियो । नेपालमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर मुख्य हुन् ।

चिकित्सकका अनुसार पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ । महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर धेरै देखिन्छ ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी क्यान्सर रोगसम्बन्धी जनचेतनाका साथै सरकारले क्यान्सरपीडितलाई लक्षित गरेर विभिन्न कार्यक्रम अगाडि सारेको बताउँछन् । सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सरपीडितका लागि १ लाख रूपैयाँसम्मको औषधि उपचारको व्यवस्था गरेको छ । प्रदेश सरकारले पनि थप १ एक लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ ।

नेपालमा आगामी ४ वर्षसम्मलाई ३५ प्रकारका क्यान्सरका आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ । निःशुल्क औषधि उपलब्ध गराउन नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’मा सहभागिता जनाएको छ ।

clockप्रकाशित मिति:  २०८१ माघ २२, मंगलवार ०७:५३
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.