विश्व क्यान्सर दिवस आज, के हो क्यान्सर ?

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलबार ०७:५३

विराटनगर । विश्व क्यान्सर दिवस आज (मंगलबार) परेको छ । प्रत्येक वर्ष फेब्रुअरी ४ मा विभिन्न सचेतनामूलक कार्यक्रम गरेर नेपालसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।

चिकित्सकका अनुसार क्यान्सर लाग्दैमा डराउनु पर्दैन । प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल बनाउन सकिन्छ । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको विज्ञहरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए निको पार्न सकिने बताए ।

क्यान्सर लाग्दैमा डराउने र आत्तिने गर्न हुँदैन । रोगबारेको बुझाइ तथा समाजमा गरिएको नकारात्मक चित्रणले गर्दा त्रास बढेको चिकित्सकको भनाइ छ । डा. बुढाथोकी थाइराइड, उच्च रक्तचाप, मधुमेहजस्तै क्यान्सर पनि दीर्घ रोग भएको बताउँछन् । समयमा पहिचान भएर उपचार हुनसक्यो भने क्यान्सर निर्मूल पार्न सकिने उनको भनाइ छ ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्जवल चालिसेले क्यान्सरको तेस्रो र चौथो चरणलाई निको पार्न कठिन भए पनि पहिलो र दोस्रो चरणलाई निर्मूल गर्न सकिने बताए । पहिलो चरणमा रोगको पहिचान हुन सक्यो भने त्यसले कुनै लक्षण र समस्या नदेखाउने उनको भनाइ छ ।

क्यान्सरका पहिलो र दोस्रो चरणका बिरामी धेरैजसोको उपचार सफल भएको उदाहरण पनि छ । तेस्रो र चौथो चरणका बिरामीलाई भने जोखिम रहन्छ । नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुने डा. चालिसेले बताए ।

विश्वको तुलनामा क्यान्सरको उपचार नेपालमा सस्तो रहेको चिकित्सकहरु बताउँछन् । सरकारी अस्पतालमा ४० देखि रु ५० हजारसम्ममा क्यान्सरको शल्यक्रिया हुने डा. चालिसले बताए । निजी स्वास्थ्य संस्थामा ५ लाखसम्म लाग्ने उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी नियमित स्वास्थ्य जाँच गराउँदा प्रारम्भिक चरणको क्यान्सर पत्ता लाग्ने बताउँछन् । क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने उनको भनाइ छ ।

क्यान्सरका ४ चरण हुन्छन् । डा. शाही शून्यदेखि ३ चरणसम्मको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र ४ स्टेजको क्यान्सरलाई नियन्त्रणमा राख्न सकिने बताउँछन् । क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने उनको भनाइ छ । नसर्ने बेलासम्म क्यान्सरलाई उपचार गर्न सकिने उनले बताए ।

क्यान्सर अत्यधिक मद्यमान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणु, वंशाणुगतलगायतले हुने डा. शाही बताउँछन् । उनका अनुसार भातदाल तरकारी र अचार नखाने, बढीजसो फास्टफुड, जंकफुड, पोलेको, सडेगलेका तथा बासी खानेकुरा खाने तथा धुम्रपान, मध्यपान गर्ने र व्यायाम नगर्ने गर्दा क्यान्सरको जोखिम हुन्छ ।

उनले खानपिन, आराम, व्यायाम, धुम्रपान, मध्यपान र मोटोपनाको रोकथामले क्यान्सरलाई कम गर्न सकिने बताए । शरीरको कोष तथा कोषिकाको समूह अस्वभाविक रूपमा वृद्धि हुनुलाई क्यान्सर भनिन्छ । यो एक प्रकारको गिर्खा वा ट्युमर पनि हो ।

कोषको जन्म, विकास, मृत्युसम्मको प्रक्रियालाई नियन्त्रण गर्ने जिन शरीरमा हुन्छ । जिनमा खराबी उत्पन्न भएपछि कोषको अनियन्त्रित वृद्धि हुँदै जाने र अन्त्यमा मानिसमा क्यान्सर लाग्ने डा. चालिसेले बताए । सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन, अखाद्य तत्वले जिनमा खराबी गर्ने उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि क्यान्सरले गराउने कूल मृत्युको करिब एकतिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित व्यायामको कमीले हुने गरेको छ । बाँकी क्यान्सरका कारणमा विकिरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य संक्रमणहरू रहेका छन् ।

विकासोन्मुख देशमा करिब ३० प्रतिशत क्यान्सर हेपाटाइटिस, ह्युमन प्यापिलोमा भाइरस संक्रमणले हुने गरेको छ । ‘ग्लोबोक्यान’ नामक एक सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सरका बिरामी फेला पर्छन् ।

सन् २०२० को तथ्यांक अनुसार क्यान्सरले नेपालमा १६ हजार ६ सय २९ जनाको मृत्यु भएको थियो । नेपालमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर मुख्य हुन् ।

चिकित्सकका अनुसार पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ । महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर धेरै देखिन्छ ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी क्यान्सर रोगसम्बन्धी जनचेतनाका साथै सरकारले क्यान्सरपीडितलाई लक्षित गरेर विभिन्न कार्यक्रम अगाडि सारेको बताउँछन् । सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सरपीडितका लागि १ लाख रूपैयाँसम्मको औषधि उपचारको व्यवस्था गरेको छ । प्रदेश सरकारले पनि थप १ एक लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ ।

नेपालमा आगामी ४ वर्षसम्मलाई ३५ प्रकारका क्यान्सरका आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ । निःशुल्क औषधि उपलब्ध गराउन नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’मा सहभागिता जनाएको छ ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×