कोशी प्रदेशसभाले मनायो सातौं स्थापना दिवस

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलवार २०:१७

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रीय सत्ताको व्यवहारमा केन्द्रिकृत सोच हाबी भएको छ । कोशी प्रदेशसभाको सातौं स्थापना दिवसमा उनले यस्तो बताएका हुन् ।

केन्द्रिकृत सोचका कारण प्रदेश सरकारहरुले गतिकासाथ काम गर्न नसकेको उनको भनाई थियो । संविधान बमोजिम प्रदेशले पाउनु पर्ने अधिकार प्राप्तीका लागि सरकारले पहल बढाउने विश्वास दिलाउँदै मुख्यमन्त्री कार्कीले सबैको सहयोगमा संयुक्त पहल गर्नुपर्ने बताए ।

Advertisement

स–साना कुराहरुमा निर्णय लिनपर्दा दलहरुले अहिले पनि केन्द्रको मुख ताक्नुपर्ने अवस्थाले राजनीतिक संघीयता पनि पूर्ण उपभोग गर्न नसकिरहेको अवस्था देखिएको भन्दै अब विस्तारै त्यसलाई घटाउँदै लैजान जरुरी रहेको पनि उनले बताए ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशलाई अधिकार सम्पन्न बनाउन सरकारले पहल नगरेको बताए । प्रदेशलाई अधिकार सम्पन्न बनाउने, निजामती कानुन निर्माण गर्ने, प्रहरी समायोजन गर्ने काममा सरकराले जाँगर नदेखाएको उनको भनाइ छ । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले प्रदेशलाई बलियो बनाउन सरकार प्रयत्नशील रहेको बताए ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले प्रदेश संरचना बनाएर प्रदेशसभा र मन्त्रालयहरु एकै ठाउँमा राख्ने व्यवस्था गर्नुपर्ने बताए ।

पूर्वसभामुख प्रदीपकुमार भण्डारीले सरकारले कानुनहरुको कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा गर्नुपर्ने बताए ।

सभामुख अम्बरबहादुर विष्टले संघीय संसदको जस्तो प्रदेशसभाको छुट्टै सेवा नभएको र प्रदेशबाट खटिएर आउने कर्मचारीहरु अन्यत्र जाँदा अनुभवी कर्मचारीको अभाव सभाले झेल्नु परिरहेको बताए ।

स्थापना दिवसमा आयाेजित कार्यक्रममा स्थापनाकालदेखि नै कार्यरत कर्मचारी वीरेन्द्रकुमार चौधरीलाई पुरस्कारसहित सम्मान गरिएको थियो । चौधरीलाई ११ हजार १११ रुपैयाँ राशिको पुरस्कारले सम्मान गरिएको हो ।

clockप्रकाशित मिति:  २०८१ माघ २२, मंगलवार २०:१७
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.