पूर्वराष्ट्रपतिको विराटनगर बसाइ : सार्वजनिक कार्यक्रमको ‘सेड्युल’, राजनीतिक भेटघाटमा व्यस्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलवार २०:२५

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १ साता विराटनगर बसेर काठमाडौं फर्किएकी छन् । माघ १४ गते विराटनगर आइपुगेकी उनी आइतबार मात्रै काठमाडौं फर्किन् ।

भण्डारी केही सार्वजनिक कार्यक्रमको ‘सेड्युल’सहित आएकी थिइन् । तर, १ साता बसाइका क्रममा उनले राजनीतिक भेटघाटलाई बढी प्राथमिकतामा राखिन् । अधिकांश समय भेटघाटमै बिताइन् ।

Advertisement

एमाले नेताहरुसँगको अनौपचारिक भेटघाटमा उनको स्पष्ट सन्देश थियो, ‘खोपीको देउता’ मात्रै भएर बस्दिन’ । अर्थात राजनीतिक भेटघाटमा व्यस्त रहेकी उनी पूर्वराष्ट्र प्रमुखको भूमिकामा मात्रै नबस्ने सन्देश प्रवाह गरेर काठमाडौं फर्किएकी हुन् । माघ १९ गते वामबुद्धिजिवीसँगको भेटमा पनि उनले यही आशय व्यक्त गरिन् ।

हुन त २ पटकसम्म मुलुकको राष्ट्रपति भइसकेकी भण्डारी सम्मानित हिसाबले बस्नुपर्नेमा पदको लोभका लागि राजनीतिमा आउन लागेको टिप्पणी कतिपयले गर्ने गरेका छन् । राजनीतिको पाइला अघि बढाउने भन्दा पनि सम्मानित नागरिकको हैसियतले अभिभावकीय भूमिकामा बस्नुपर्ने सुझाव कतिपयले दिइरहेका छन् । सक्रिय राजनीतिमा उनको खाँचो नरहेको विश्लेषण गर्नेहरु पनि छ ।

तर, विभिन्न आलोचना र टिप्पणीलाई बेवास्ता गर्दै उनी सक्रिय राजनीतिमा आउन मरिहत्ते गरिरहेकी छन् । पूर्वराष्ट्रपति भण्डारीलाई यतिबेला सक्रिय राजनीतिमा आउन निक्कै धपेडी छ ।

विराटनगर बस्दा बिग होटलमा ‘भेटघाटको मुकाम’ बनाएकी उनलाई भेट्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेदेखि नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसम्म पुगे । नेकपा (एमाले) मोरङका पूर्वअध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्युरो सदस्य महेश रेग्मी पनि उनलाई भेट्न पुगे ।

भण्डारीले विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीति गरेकी थिइन् । २०४०–०४१ को स्ववीयू कोषाध्यक्षसमेत रहेकी उनले आफ्ना समकालीन तथा आफूपछिका विद्यार्थी नेताहरुलाई भेटिन् । उनले विराटनगरमा आफ्ना पूर्वघरबेटीलाई पनि भेटेकी थिइन् ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि केही समय निष्क्रिय भएकी भण्डारीले राजधानी बाहिर बसेर राजनीतिक ‘होमवर्क’ गरेको विराटनगर नै हो । उनको सक्रिय राजनीतिको सुरुवात पनि विराटनगरबाटै भएको थियो । विक्रम संवत २०३० को दशकमा भोजपुरबाट विराटनगर आएर उनले विद्यार्थी राजनीति सुरु गरेकी थिइन् ।

दुई कार्यकाल राष्ट्रको प्रथम नागरिक भएकी उनले फेरि राजनीतिक जीवनकै अर्काे अध्यायको सक्रियताका लागि पनि आधार इलाका नै रोजेको कतिपयको बुझाइ छ । विराटनगरको भेटघाट राजनीतिको सुरुवात भएको उनीनिकट नेताहरु बताउँछन् ।

भण्डारीको ‘मुभमेन्ट’लाई नजिकबाट हेरेका एमालेका एक नेता भण्डारीले तत्कालै केपी शर्मा ओलीलाई चिढ्याएर भने अघि बढ्न नचाहेको बताउँछन् । तर, परिस्थिति हेरेर अघि बढ्ने उनको योजना छ । विराटनगरमा पत्रकार भेटघाट गरेर ‘देशले आवश्यकता महसुस गरे’ राजनीतिमा आउँछु भनेर स्पष्ट सन्देश दिएकी थिइन् ।

आफू सक्रिय राजनीतिमा आउँदा वाम ध्रुवीकरणको वातावरण बन्ने उनको विश्लेषण छ । ‘केपी शर्मा ओलीको स्वभाव र शैलीका कारण वाम ध्रवीकरण उनको नेतृत्वमा सम्भव छैन । तर, उहाँको ठाउँमा विद्या कमरेड आउँदा त्यो वातावरण बन्छ,’ एमालेका ती नेताले भने,‘ विद्या कमरेडप्रति नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समावादी)को नेतृत्व ‘सफ्ट’ छ ।’

उनी राजनीतिमा आउँदा ओलीबाट पेलिएका नेताहरुमा संरक्षण पाउने आश पनि रहेको ती नेताको भनाइ छ । विराटनगरमा रहँदा उनले ओलीबाट पेलिएका नेताहरुसँग पनि भेटघाट गरिन् । पार्टीमा पेलिएका नेताहरुको भेटघाटको वातावरण विनोद ढकालले मिलाएका थिए । ढकाल पनि ओलीबाट पेलिएका नेता हुन् ।

माघ १४ गते विराटनगर आएलगतै पूर्वराष्ट्रपति भण्डारीले महिला अगुवा कार्यकर्तासँग भेटघाट गरिन् । त्यसपछि पत्रकार सम्मेलन गरेर राष्ट्रपति पनि राजनीतिक जिम्मेवारी रहेका कारण आवश्यकता परेको खण्डमा सक्रिय राजनीतिमा आउने बताइन् । त्यसपछि उनले विद्यार्थीसँग भेटघाट गरिन् । पार्टीका जिल्ला र केन्द्रीय तहका नेताहरुसँग छुट्टाछुट्ै छलफल गरिन् ।

माघ १५ गते उनले एमालेनिकट प्राध्यापक संघको टोलीसँग भेटघाट गरिन् । त्यसपछि इटहरीको जनता माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी भइन् । कार्यक्रमपछि इटहरीमै कार्यकर्ता भेला गरेर केही समय छलफल गरिन् । फर्किएर विराटनगर आएपछि पनि केही नेतालाई भेटिन् ।

माघ १६ गते उनी मनमोहन प्राविधिक विश्वविद्यालय र प्रतिष्ठानको अवलोकनमा गइन् । त्यसपछि स्मृति बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा सहभागी भइन् । फर्किएर उनले स्थानीय नेताहरुसँग भेटघाट गरिन् ।

माघ १७ गते गते बिहान कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग भेटघाट गरिन् । त्यसपछि मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी र मदन भण्डारी स्मृति प्रतिष्ठानको अवलोकनतर्फ लागिन् । सोही क्रममा मामालाई भेट्न पनि पुगिन् । विराटनगर आएर उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका पूर्वविद्यार्थीसँग छलफल गरिन् । त्यो छलफलमा महेन्द्र मोरङबाट विद्यार्थी राजनीति सुरु गरेका एमाले र कांग्रेसका नेताहरु सहभागी थिए ।

माघ १८ गते आदिवासी जनजाति समुदायका अगुवा नेताहरुसँग भेटघाट गरिन् । त्यसपछि सरस्वती माध्यमिक विद्यालय झोराहाटको कार्यक्रममा सहभागी भइन् । सोही दिन उनी इन्जिनियरिङ क्याम्पस धरानमा विद्यार्थीको भेलालाई सम्बोधन गर्न पुगिन् । धरानमा पनि कार्यकर्ता भेला गरेर छलफल गरिन् ।

माघ १९ गते उनको निर्धारित कार्यक्रम एनटिभी इटहरीको वार्षिकोत्सव मात्रै थियो । कार्यक्रममा सहभागी भएर उनी विराट एक्स्पो अवलोकनका लागि पुगिन् । सोही दिन संघीय संसदका सभामुख देवराज घिमिरेसँग बिग होटलमा भेटघाट गरिन् । माघ १९ गते नै उनले कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीसँग लामो संवाद गरिन् । त्यसपछि मदन भण्डारी फाउन्डेशन प्रदेशको टोलीसँग छलफल गरिन् ।

उनले पूराना कार्यकर्ता र पूर्वघरबेटीसँग पनि भेटघाट गरिन् । १९ गते नै उनले वामबुद्धिजिवीसँग छलफल गरेकी थिइन् । माघ २० गते पनि पार्टीका नेताहरुसँग छलफल भएको थियो ।

विराटनगरमा भण्डारीको सचिवालय हेरेका एमाले मोरङका सहसचिव सोमराज थापाका अनुसार भण्डारीले झापा, मोरङ र सुनसरीका नेताहरुसँग अनौपचारिक छलफल गरेकी थिइन् । ‘पूर्वनिर्धारित कार्यक्रमबाहेक उहाँले समाजका विभिन्न पक्षसँग छलफल गर्नुभयो,’ थापा भन्छन्, ‘विराटनगरबाट सकारात्मक भएर फर्कनु भएको छ ।’

clockप्रकाशित मिति:  २०८१ माघ २२, मंगलवार २०:२५
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.