
चितवन । जिल्ला अदालत चितवनमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी छ ।
साहारा चितवन सहकारीको रकम अपचनमा लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा चलाइएको छ । आफूविरुद्ध दर्ता भएको मुद्दाको बयानका लागि लामिछाने आज (बधुबार) नै अदालत हाजिर भएका थिए ।
न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान भइरहेको छ । बयान सकिएपछि मुद्दामा वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुन्छ । त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी अर्थात साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने छ ।
लामिछानेसहित १५ जनाविरुद्ध मंगलबार चितवन अदालतमा मुद्दा दायर भएको थियो । १२ जनाविरुद्ध संगठित अपराध र ठगी दुवै अपराधमा मुद्दा दर्ता भए पनि रविविरुद्ध भने ठगी मुद्दा मात्रै दर्ता भएको छ ।
कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा भने उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । तीनवटै अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।
























