गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानद्वारा न्यानो कपडा र स्टेशनरी वितरण 

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २५, शुक्रबार १८:१०

विराटनगर । गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडासहित स्टेसनरी सामग्री वितरण गरेको छ । 

प्रतिष्ठानले खोटाङ जिल्लाको दिप्रुङ–चुइचुम्मा गाउँपालिका–४ इँजारास्थित श्री राम्चे निकेतन माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष कवि एवं पत्रकार मीनकुमार नवोदितले जानकारी दिए । 

कक्षागत परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन स्वरुप स्टेसनरी सामग्री प्रदान गरिएको थियो । १ देखि १० कक्षासम्म अध्ययन गर्ने रोल नम्बर ५ सम्मका ५० जना विद्यार्थीलाई कापी, कलम र पेन्सिल प्रदान गरिएको अध्यक्ष नवोदितले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष नवोदितसहित प्रतिष्ठानका उपाध्यक्ष रेवन्त श्रेष्ठ, कोषाध्यक्ष बब्लुता शाक्य, सदस्य हीरा श्रेष्ठ, मीना श्रेष्ठ, रीना श्रेष्ठ, भानु श्रेष्ठ, मीना श्रेष्ठ, पूर्ण श्रेष्ठलगायत पदाधिकारी र सदस्यहरूले उक्त सामग्री वितरण गरेका थिए । 

सोही अवसरमा विद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । विद्यालयको पुस्तकालयका लागि प्रतिष्ठानका अध्यक्ष नवोदितले विभिन्न विधाका १५ थान पुस्तक प्रधानाध्यापक ईश्वर लम्साललाई प्रदान गरेका थिए । 

प्रतिष्ठानले हरेक वर्ष सो विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण गर्दै आएको छ ।

आफूले प्रारम्भिक शिक्षा लिएको विद्यालयका भएका कारण सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरू प्रोत्साहित होउन् भनेर विगतदेखि नै न्यानो कपडा र स्टेसनरी सामग्री वितरण गर्दै आएको नवोदितले बताए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.