
विराटनगर । चौथो प्रादेशिक ज्याम्बोरेट शनिबार (आज)देखि विराटनगरमा सुरु भएकाे छ ।
नेपाल स्काउट कोशी प्रदेशले आयाेजना गरेकाे ज्याम्बोरेट विराटनगरस्थित डिग्री कलेजमा माघ २८ सम्म हुनेछ ।
ज्याम्बाेरेटकाे उद्घाटन प्रदेश स्काउट संरक्षक एवं मुख्यमन्त्री कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे ।

स्काउटका प्रदेश प्रमुख एवं कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री कार्कीलगायत नेपाल स्काउटका राष्ट्रिय प्रमुख आयुक्त महेन्द्रराज रन्जितु, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, राष्ट्रिय सहप्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय कार्यकारी समिती सदस्य रवि खनालले शुभकामना दिएका थिए ।
उद्घाटनका क्रममा स्वागत नृत्य, मार्चपासलगायतका कार्यक्रम प्रस्तुत गरिएको थियो । ज्याम्बोरेटमा कोशी प्रदेशका ७० भन्दा बढी स्थानीय तहका स्काउटहरू र अन्य ६ वटा प्रदेशबाट प्रतिनिधिमूलक रूपमा सहभागिता रहेको छ । कार्यक्रममा स्काउट एवं स्काउटहरू गरी जम्मा ३ हजार जनाको सहभागिता रहेको छ ।

























