
काठमाडौं । मिडिया काउन्सिल विधेयक–२०८० राष्ट्रियसभाबाट पारित भएको छ ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रियसभाको आज (सोमबार)को बैठकबाट सर्वसम्मतिले पारित भएको हो । त्यसअघि विधेयकमाथि दफावार छलफल भएको थियो ।
सञ्चारमन्त्री गुरुङले विधायन व्यवस्थापन समितिमा लामो समय छलफल भइ पारित भएर राष्ट्रियसभामा विधेयक आएको जानकारी गराएका थिए । बढी स्वायत्त बनाउँदै नियमन र स्वनियमन गर्ने सम्पूर्ण अधिकार दिएर मिडिया क्षेत्रलाई कसरी मर्यादित, पृथक तथा स्वायत्त निकाय बनाउन सकिन्छ भनेर विधेयकमा धेरै विषय समेटिएको उनको भनाइ थियो ।
मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने हेतुले तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले २०८१ वैशाख १२ गते मिडिया काउन्सिल विधेयक दर्ता गरेकी थिइन्। उक्त विधेयक गत जेठ १३ गते राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।
समय सापेक्ष विद्युतीय अनलाइन र छापा पत्रकारिता पेसालाई मर्यादित, उत्तरदायी, जिम्मेवार एवं विश्वसनीय बनाउन विधेयक ल्याइएको जनाइएको छ ।























