‘सीटी स्क्यान मेसिन’ माग्दै विराटनगर आए संखुवासभाली

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन २, शुक्रबार १९:५९

विराटनगर । जिल्ला अस्पताल खाँदबारीका लागि ‘सीटी स्क्यान मेसिन’ खरिद प्रक्रिया अघि बढाइदिनुपर्ने माग गर्दै संखुवासभाबाट सर्वदलीय टोली कोशी प्रदेशको राजधानी विराटनगर आइपुगेको छ ।

कोशी प्रदेश सरकारले जिल्ला अस्पताल खाँदबारीका लागि ‘सीटी स्क्यान मेसिन’ खरिद गर्न चालु आर्थिक वर्ष २०८१–०८२ मा ७ करोड रूपैयाँ विनियोजन गरेको थियो । तर, समयमै खरिद प्रक्रिया अघि नबढाइएको भन्दै दबाब दिनलाई संखुवासभाली शुक्रबार विराटनगर आइपुगेका हुन् ।

Advertisement

जिल्ला समन्वय समिति (जिसस) संखुवासभाका प्रमुख सुमन शाक्य, संविधानसभा सदस्य एवं पूर्वप्रदेशसभा सदस्यसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता पूर्णप्रसाद राई, सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईं, नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति दिपनकुमार श्रेष्ठ, नेकपा (एमाले) खाँदबारी नगर कमिटीका पूर्वअध्यक्ष एवं पार्टीका सचिवालय सदस्य किरणकुमार शाक्यलगायत विराटनगर आएका छन् ।

टोलीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संखुवासभा सभापति भक्तनारायण श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष सीताराम तिम्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राष्ट्रिय प्रजातान्त्रिक युवा संघका जिल्ला अध्यक्ष मुकेशराज दाहाल, नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिवालय सदस्य हेमराज निरौला, जिल्ला समन्वय समितिको सचिवालय सदस्य प्रकाश श्रेष्ठलगायत छन् ।

टोलीलाई संखुवासभाबाट निर्वाचित प्रदेशसभा सदस्यहरु सत्तारुढ नेकपा (एमाले)का विदुरकुमार लिङ्थेप र नेकपा (माओवादी केन्द्र)का राजेन्द्रकुमार कार्कीले साथ दिएका थिए । लिङ्थेप एमालेको प्रदेश संसदीय दलका प्रमुख सचेतक र कार्की प्रदेशकै पूर्वस्वास्थ्य मन्त्री हुन् ।

कार्की नै स्वास्थ्यमन्त्री भएका बेला ‘मेसिन’ खरिदका लागि बजेट विनियोजन भएको थियो । संखुवासभाबाट आएको टोलीले प्रदेश सांसद लिङ्थेप र कार्कीसहित स्वास्थ्यमन्त्री भूपेन्द्र राई र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर समस्या सुनाएको छ ।

जिसस प्रमुख शाक्यले प्रदेश सरकारले बजेट छुट्याएको भए पनि कार्यान्वयन गर्न ढिलाइ गरेका कारण दबाब दिन १ दिन लगाएर विराटनगर आउनु परेको बताए । उनका अनुसार जिल्ला अस्पताल खाँदबारीमा ११ औं तहका मेडिकल सुपरिटेन्डेन्ट छैनन् । ९ औं तहका मेडिकल सुपरिटेन्डेन्टले खरिद प्रक्रिया अघि बढाउन नमिल्ने भएका कारण स्वीकृतिका लागि आग्रह गरेर मंसिर १८ गते नै स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइएको जानकारी शाक्यले दिए ।

तर, स्वास्थ्य मन्त्रालयले अहिलेसम्म स्वीकृति नदिएको र खरिदको प्रक्रियासमेत अघि नबढाएको उनले बताए । अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका शाक्यका अनुसार ‘मेसिन’ चलाउने जनशक्तिको अभाव देखाउँदै सरकारले काम नगरेका कारण बजेट ‘फ्रिज’ भएर जाने आवस्था आउनसक्छ । गत आर्थिक वर्षमा ‘मेसिन’ खरिदकै लागि आएको ३ करोड रूपैयाँ ‘मेसिन’ खरिद गर्न अपुग भएकाले ‘फ्रिज’ भएको जानकारी उनले दिए ।

‘मेसिन’ खरिद गर्नुपर्ने माग राख्दै संखुवासभालीले सामाजिक सञ्जालमार्फत व्यापक दबाब दिइरहेको उनले बताए । खाँदबारी अस्पतालले संखुवासभासहित भोजपुर, धनकुटा र तेह्रथुमसम्मका बासिन्दालाई समेत सेवा दिइरहेको उनको भनाइ छ । उनका अनुसार ‘सीटी स्क्यान’कै लागि दैनिक १० जनासम्म बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा ‘रेफर’ गर्नुपर्ने अवस्था छ ।

‘दक्ष जनशक्ति अस्पतालले व्यवस्थापन गर्छ । तर, ‘मेसिन’ खरिद प्रक्रिया अघि बढाइदिनु पर्यो । दुर्गम पहाडमा ‘सीटी स्क्यान’ सेवा नहुँदा सर्वसाधारणले धेरै दुःख पाउनुपर्ने अवस्था छ । सुविधा सम्पन्न अस्पताल पुग्दा गाडी भाडामा मात्रै ३० हजार रूपैयाँभन्दा बढी खर्च हुन्छ । उपचारमा अरु पैसा लाग्छ । जिल्लाबाटै सेवा सञ्चालन गर्न सकेमा ‘सीटी स्क्यान’का लागि सर्वसाधारणले ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुन्थ्यो, ‘मुख्यमन्त्री र मन्त्रीसँगको भेटमा शाक्यले भने ।

कांग्रेसका पूर्वसभापति श्रेष्ठले आर्थिक अभावका कारण सर्वसाधारणले सहज उपचार पाउने वातावरण नबनेको बताए । ‘उपचार साह्रै महँगो पर्यो । जिल्ला अस्पतालमा ‘सीटी स्क्यान मेसिन’ मात्रै भइदिए ठूलो राहत पुग्ने थियो,’ उनले भने । श्रेष्ठका अनुसार अस्पताल सेवा सुदृढीकरण तथा विस्तार कार्यक्रमअन्तर्गत ‘मेसिन’ खरिद शीर्षकमा खरिद प्रक्रिया अघि बढाउन तयार गरिएको लागत अनुमान र प्रविधिक ‘स्पेसिफिकेसन’ प्रमाणीकरणका लागि यसअघि नै मन्त्रालयमा पठाइएको थियो ।

सभापोखरी गाउँपालिका उपाध्यक्ष चापागाईंका अनुसार प्रदेश सरकारले स्थानीय तहका आधारभूत अस्पतालका लागि पनि एक्स–रे ‘मेसिन’ खरिदको प्रक्रिया अघि बढाएको छैन । ‘सभाखोलाको बाह्रबिसेमा मोटरेबल पुल निर्माणका लागि बजेट छुट्याउने काम हुन्छ । तर, स्रोत सुनिश्चित नभएको भनेर टेण्डर आह्वान गरिँदैन । काम अघि बढाइँदैन । योजनालाई बहुवर्षीय बनाएर तत्काल टेण्डर खोल्नुपर्छ,’ उनले भनिन् ।

पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद कार्कीले ‘मेसिन’ खरिदमा प्रक्रियागत हिसाबले ढिला भइरहेको बताए । ‘मेसिन’ उपलब्ध भएमा प्रदेश सरकारले जनशक्तितर्फ थप दायित्व बेहोर्न नपर्ने उनको भनाइ छ । यो विषयमा पटकपटक कुरा राखिसकिएको बताउँदै कार्कीले अत्याधुनिक ‘मेसिन’ खरिद गरेर चाँडो पठाउनुपर्ने माग राखेका छन् । ‘मेसिन ‘क्वालिटीको जाओस् । छिटो जाओस्,’ उनले भने ।

स्वास्थ्य मन्त्री राईले ‘मेसिन’ खरिदलाई प्रक्रियामा लैजान प्रदेश सरकार तयार रहेको बताए । तर, मन्त्रालयभित्र केही समस्या रहेको र त्यसलाई व्यवस्थित बनाउन समय लागेकाले अहिले काम अघि बढ्न नसकेको उनको भनाइ छ । ‘मन्त्रालयको खरिद प्रक्रिया अहिले ठप्प छ । केही समस्याहरु देखिएका छन् । त्यसलाई समाधान गरेर चाँडो काम अघि बढाउने पक्षमा हामी छौं,’ मन्त्री राईले भने ।

अर्कोतर्फ ‘मेसिन’ खरिद गरिए पनि जनशक्ति व्यवस्थापनमा समस्या हुने उनको भनाइ छ । ‘एक्स–रे गर्ने मान्छे त व्यवस्थापन गर्नुहोला । तर, ‘रिपोर्ट’ निस्किएर रोग पत्ता लागिसकेपछि उपचार गर्ने जनशक्ति पनि चाहिन्छ,’ राई भन्छन्, ‘रोग पत्ता लागेपछि उपचार नभएर ‘रेफर’ नै गर्नुपर्ने अवस्था आयो भने ‘मेसिन’ खरिद गरेको कुनै अर्थ हुँदैन । सरकारबाट पनि दक्ष जनशक्तिको खोजी हुँदै छ ।’

जनशक्तिको व्यवस्थापनसहित ‘मेसिन’ खरिद प्रक्रिया अघि बढाउने तयारी रहेको उनले बताए । स्रोत सुनिश्चित भएर टेण्डर प्रक्रियामा गइसकेपछि काम अघि बढ्ने र त्यसको जिम्मा प्रदेश सरकारले लिने मन्त्री राईको भनाइ छ ।

मन्त्रालयको खरिद प्रक्रियालाई व्यवस्थित बनाइसकेपछि काम अघि बढ्नेमा ढुक्क हुन उनले आग्रह गरे । ‘स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् । अस्पतालहरुमा विज्ञ डाक्टर दिन सकिएको छैन । समाधानका लागि उपायको खोजी गरिरहेका छौं । अर्कोतर्फ ‘मेसिन’ दिनुपर्ने माग लिएर तपाईंहरु यहाँसम्म आउनु परेकोमा माफी माग्छु,’ मन्त्री राईले भने ।

मुख्यमन्त्री कार्कीले पनि ‘सीटी स्क्यान मेसिन’ खरिदमा आफूले सहजीकरण गरिदिने प्रतिबद्धता जनाएका छन् । बजेट विनियोजन भएपछि खरिद प्रक्रिया अघि बढाउने जिम्मा सम्बन्धित मन्त्रालयकै हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.