कोशी प्रदेश स्थापनाको ७ वर्ष : के के भए काम ? (सूचीसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ३, शनिबार ०८:४४

विराटनगर । कोशी प्रदेश सरकार गठन भएको आज (शनिबार) ७ वर्ष वर्ष पुगेको छ । पहिलोपटक २०७४ साल फागुन २ गते प्रदेश सरकार गठन भएको थियो ।

कोशी प्रदेशमा ७ वर्षको अवधिमा ९ वटा सरकार बनेका छन् । पहिलो कार्यकालमा ३ वटा सरकार बनेका थिए । दोस्रो कार्यकालको २ वर्षको अवधिमा ६ वटा (सर्वोच्च अदालतबाट अवैधानिकसहित) सरकार बनेका छन् ।

Advertisement

प्रदेश सरकारले सार्वजनिक गरेको उपलब्धि अनुसार पछिल्लो ७ वर्षमा ७५ वटा कानुन निर्माण भएको छ । आर्थिक वर्ष २०७४–०७५ देखि २०८०–८१ सम्म प्रदेशका लागि २ खर्ब २९ अर्ब बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट छ ।

७ वर्षको अवधि (२०७४ फागुनदेखि ०८१ असारसम्म) १ खर्ब ६८ अर्ब ३९ करोड बजेट प्रदेशले खर्च गरेको छ । जसमध्ये पुँजीगत खर्च ९६ अर्ब ६९ करोड हो । स्थानीय तहमा २३ अर्ब १० करोड अनुदान हस्तान्तरण गरेको थियो ।

२०७४–०७५देखि २०८१–०८२ को पहिलो त्रैमाससम्म ४ सय ५३ किलोमिटरका बहुवर्षीय सडक, १ हजार ३ सय ९० किलोमिटर ग्राभेल र ६ सय ८ किलोमिटर सडक कालोपत्रे भएको छ । सोही अवधिमा ९३ वटा पक्की पुल र २ सय २२ वटा झोलुंगे पुल पनि निर्माण भएको छ ।

प्रदेश सरकारका अनुसार १ सय १३ वटा सामुदायिक भवन, २८ वटा सरकारी भवन, १६ वटा एकीकृत वस्ती निर्माण भएको छ । जनता आवास कार्यक्रमअन्तर्गत ७ हजार २ सय ८४ वटा घर निर्माणसहित २ वटा भ्यू टावरलगायतका संरचना बनेका छन् ।

प्रदेश सरकारले ७ वर्षको अवधिमा सुरक्षा निकायको भौतिक संरचना निर्माणका लागि १ अर्ब १२ करोड बजेट खर्च गरेको थियो । यो बजेटबाट ९७ वटा प्रहरी कार्यालयको भवन निर्माण भएको छ । २ वटा निर्माणाधीन अवस्थामा छन् ।

प्रहरीलाई ३ सय ७० थान मोटरसाइकल, १० थान स्कुटर, ६ थान डोमिनट साथै १५ वटा चार पांग्रे सवारीसाधन उपलब्ध गराइएको छ । सशस्त्र प्रहरीका लागि १८ वटा बोर्डर आउट पोस्ट (बीओपी) निर्माण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाललाई ७० थान मोटरसाइकल र राष्ट्रिय अनुसन्धानलाई १५ थान मोटरसाइकल उपलब्ध गराएको छ ।

कोशी प्रदेशमा सरकार गठन भएको ७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले २ सय ३८ बुँदे उपलब्धि सार्वजनिक गरेको छ । सरकारले आज औपचारिक रूपमा सातौं वार्षिकोत्सव मनाउँदै छ ।

कोशी प्रदेशमा २०७४ फागुन २ गते शेरधन राईको नेतृत्वमा पहिलोपटक सरकार गठन भएको थियो । त्यतिबेला हालको कोशी प्रदेश तत्कालीन प्रदेश १ थियो । २०७४ मंसिरमा प्रतिनिधिसभाको निर्वाचन भएको थियो । प्रतिनिधिसभाको चुनावसँगै प्रदेशसभाको चुनाव पनि भयो ।

सोही चुनावबाट जनप्रतिनिधि चुनिएर आएपछि प्रदेश सरकार गठनको औपचारिक प्रक्रिया सुरु भयो । संघीय सरकारले अहिलेसम्म प्रदेशलाई प्रहरीको अधिकार हस्तान्तरण गरेको छैन । तर, कोशीले ९७ वटा प्रहरी कार्यालयका भवन बनाइदिएको छ ।

२०७६ माघमा कोशीको लोकसेवा आयोग गठन भएपछि अहिलेसम्म स्थानीय सरकारी सेवातर्फ ४ हजार ४३ पद संख्यामा विज्ञापन गरी २ हजार १ सय १४ जनालाई पदपूर्तिका लागि सिफारिस गरिएको छ । कर्मचारीहरू अहिले पालिकामा कार्यरत छन । प्रदेशका लागि सुरुवाती समय चुनौतीपूर्ण थियो ।

कर्मचारी, कानुन, कार्यालय, वित्तीय स्रोत र साधन शून्यबाट थालनी गर्नुपर्ने स्थिति थियो । कानुन तर्जुमा, बजेट निर्माण, प्रदेश सरकार तथा प्रदेश संसद्को बैठक सञ्चालन प्रदेशका लागि नयाँ अभ्यास थियो । कोशी प्रदेशले सरकार गठन भएकै वर्ष गरिबका छोराछोरीलाई एमबीबीएस पढ्न बिनाधितो सुलभ ऋणको व्यवस्था गरेको थियो ।

यस्तो छ कोशी प्रदेश सरकारको ७ बर्से उपलब्धि

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.