मोरङमा नाबालिका छोरीसहित पोखरीमा हामफालिन आमा, शिशुको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ३, शनिबार ०८:१७

विराटनगर । मोरङमा १ जना महिलाले नाबालिका छोरीसहित पोखरीमा हामफालेकी छन् । उद्धार गरेर उपचारका लागि पठाइए पनि शिशुको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले आफ्नै ६ महिनाकी छोरी काव्या यादवसहित शुक्रबार साँझ ७ः३० बजेतिर माछा पोखरीमा हामफालेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीका अनुसार प्रीतिले नाबालिका छोरीसहित गएर घरदेखि करिब १ किलोमिटर उत्तरमा रहेको माछा पोखरीमा हामफालेकी हुन् ।

Advertisement

उक्त पोखरी स्थानीय पनैलाल चौधरीको हो । हामफालेको देखेपछि स्थानीयले पोखरीबाट उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा पठाएका थिए । अस्पताल पुर्याउनसाथ राति ८ः३० बजेतिर शिशुलाई भने चिकित्सकले मृत घोषित गरिदिएको इन्स्पेक्टर ओलीले बताए ।

उनका अनुसार आमाको पनि अवस्था गम्भीर छ । आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

इन्स्पेक्टर ओलीका अनुसार शिशुसहित आमाले पोखरीमा हामफाल्नुपर्ने कारण पत्ता लागेको छैन । ‘शिशु अवस्थाकी छोरीसहित आमाले माछा पोखरीमा हामफालेको पाइयो । स्थानीयले उद्धार गरेर उपचारका लागि पठाएछन् । अस्पताल पुर्याएपछि शिशुलाई चिकित्सकले मृत घोषित गरिदिए । गम्भीर अवस्थाकी आमाको उपचार भइरहेको छ । तर, घटनाको कारण थाहा हुन सकिरहेको छैन । थप अनुसन्धानबाट वास्तविकता पत्ता लाग्ला,’ उनले भने ।

शिशु अवस्थाकी छोरीसहित पत्नीले पोखरीमा हामफाल्दा पति गंगाराम भने घरमा थिएनन् । उनी दूध पुर्याउन बजार गएको पाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.