
विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट र स्वीस सरकारका प्रतिनिधिबीच आइतबार भेटवार्ता भएको छ ।
भेटवार्ता सभामुखको कार्यकक्षमा भएको हो । स्वीस सरकारका प्रतिनिधि हेड अफ कर्पोरेसन म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलले सभामुखलाई भेटेको छ ।
भेटवार्तामा स्वीस सरकारका प्रतिनिधिले कोशी प्रदेशसभा सञ्चालनदेखि कानुन निर्माणको सम्भावना र चुनौतीसम्मका विषयमा जानकारी लिएका थिए । प्रदेश सरकारले ७ वर्ष पूरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै उनीहरूले संघीयता कार्यान्वयनका लागि स्वीस सरकार सहयोगी बन्ने पनि बताएका छन् ।
सभामुख विष्टले संघीयता कार्यान्वयन भइसकेपछि सुरु भएको प्रदेशसभाबाट हालसम्म ७५ वटा विधेयक पारित भएको जानकारी गराए । प्रदेशसभाको पहिलो कार्यकालमा ६२ वटा विधेयक पारित भएको र राजधानी टुंगो लगाउने काम भएको बताउँदै उनले दोस्रो कार्यकालमा १३ वटा विधेयक पास गरेको र नामकरण सकिएको जानकारी दिए ।
नेपालको संविधानले उठाएको समावेशी सहभागिता अनुरूप सदनमा ३३ प्रतिशतभन्दा बढी महिला सहभागिता रहेको विष्टले बताए । तथापि, प्रदेशको आफ्नै भौतिक संरचना बन्न नसकेको अवस्थाबारे जानकारी दिँदै उनले प्रदेशसभा सदस्यहरूलाई अभिमुखीकरणको आवश्यकता रहेको पनि औंल्याए ।
यस्तै, उपसभामुख सिर्जना दनुवारले कानुन निर्माणका लागि स्वीस सरकारले गरेको सहयोग र सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको सुनाइन् । कोशी प्रदेशसभा सदस्यहरूले सदनमा सबै विषय उठान गर्न नसकिरहेको बताउँदै उनले सांसदको क्षमता अभिवृद्धि गर्न तालिम आवश्यक रहेको र त्यसमा स्वीस सरकारको सहयोग चाहिएको बताइन् ।
दुई पक्षीय भेटवार्तामा कोशी प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्य, प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकाललगायत उपस्थित थिए ।


























