
विराटनगर । मुलुकमा अघिल्लो वर्षको तुलनामा सवारी दुर्घटना कम भएको छ । तर, दुर्घटनामा मानवीय क्षति हुने क्रम भने बढेको छ ।
चालु आर्थिक वर्ष २०८१–०८२ को ६ महिनामा सवारी दुर्घटनामा परेर १ हजार २ सय ३३ जनाको मृत्यु भएको छ । यो साउनदेखि पुससम्मको तथ्यांक हो । सवारी दुर्घना ११ हजार ३ सय ३८ वटा भएका छन् ।
अघिल्लो वर्षको पुससम्म दुर्घटनामा परेर १ हजार १ सय ४९ जनाको मृत्यु भएको थियो । मुलुकभर १२ हजार ८ सय ५६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्षको तुलनामा दुर्घटना संख्या कम भए पनि ज्यान गुमाउने भने बढेका छन् ।
गृह मन्त्रालयका अनुसार साउनमा १ हजार ६ सय २८ वटा दुर्घटना भएका थिए । १ सय ५२ जनाको मृत्यु भएको थियो । भदौमा १ हजार ६ सय १९ दुर्घटना हुँदा १ सय ७४ जनाले ज्यान गुमाए ।
असोजमा १ हजार ८ सय ७३ वटा दुर्घटना हुँदा २ सय जनाको मृत्यु भएको थियो । कात्तिकमा १ हजार ९ सय २८ वटा दुर्घटना हुँदा २ सय ५८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मंसिर २ हजार १४ वटा सडक दुर्घटना हुँदा २ सय ५१ जनाले ज्यान गुमाए । पुसमा २ हजार २ सय ७६ वटा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १ सय ९७ जनाको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।
मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार चालकको लापरबाही, ट्राफिक नियमको उल्लंघन, यान्त्रिक गडबडी, सडकको अवस्था र अन्य मानवीय कारणले दुर्घटना हुने गरेको छ । ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष सवारी दुर्घटना कम भएका छन्,’ उनले भने, ‘तर, दुर्घटनामा ज्यान गुमाउनको संख्या बढेको छ ।’























