
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस आज (बुधबार) परेको छ । २००७ सालको जनक्रान्तिले नागरिकलाई अधिकारसम्पन्न बनाएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते मुलुकभर विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने गरिन्छ ।
प्रजातन्त्र महान सहिदहरूको बलिदानी, त्याग र संघर्षको प्रतिफल हो । जनक्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारशिला तय गरेर नागरिकलाई अधिकारसम्पन्न बनाएकाले पनि प्रजातन्त्र दिवसको ठूलो महत्व छ ।
जहानियाँ राणा शासकहरुले सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलाई फाँसी दिएका थिए । तिनै महान तथा ज्ञात अज्ञात सहिदहरुप्रति प्रजातन्त्र दिवसका अवसरमा श्रद्धासुमन अर्पण गर्ने गरिन्छ ।
सदिहहरुले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेसँगै जनक्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रम र उल्लाससहित प्रजातन्त्र दिवस मनाउन थालिएको हो । प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गरिरहेका छन् ।
२००७ सालको जनक्रान्तिले नै नागरिकलाई अधिकारसम्पन्न बनाउने जग बसाएको हो । संवैधानिक रूपमा प्रजातान्त्रिक व्यवहार अनुसार नागरिकका अधिकार स्थापित गर्ने कामको बलियो थालनी २००७ को जनक्रान्तिले गरेको अग्रजहरु बताउँछन् ।
जनक्रान्तिको जगमा टेकेर नेपालमा लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक, समावेशीसहितको नागरिकलाई अधिकारसम्पन्न बनाउने व्यवस्थाको अभ्यास आरम्भ भएको हो । देशमा पछिल्लो ७ दशकमा विभिन्न चरणमा राजनीतिक परिवर्तन र शासकीय स्वरूपमा रूपान्तरण भएका छन् ।
तर, त्यत्रो परिवर्त हुनुको पछाडि २००७ कै जनक्रान्ति हो । नेपालको इतिहासमा मानव अधिकार, जनअधिकार र देश विकासको मेरुदण्डका रूपमा ७ दशकअघिकै जनक्रान्तिलाई लिने गरिन्छ ।
जनक्रान्तिपछि राजनीतिक, सामाजिक, आर्थिक रूपान्तरणतर्फ मुलुक अघि बढेको थियो । नागरिकलाई सार्वभौम बनाउने र नागरिकले आफ्ना प्रतिनिधि आफैँले छान्न पाउने व्यवस्थाको आरम्भ भएको दिनका रूपमा पनि फागुन ७ गतेलाई लिने गरिन्छ ।
मुलुकमा राणा शासनपछि प्रजातन्त्रको अभ्यास हुँदाहुँदै पञ्चायती व्यवस्था आएको थियो । नागरिकले आफ्ना भावना व्यक्त गर्नै नसक्ने परिस्थिति पनि थियो । तर, त्यसको अन्त्य भएसँगै नेपालमा नागरिकले गुनासो र आलोचना खुला रूपमा राखेर लोकतान्त्रिक व्यवस्था अनुरूप अधिकारको अभ्यास गरिरहेका छन् ।
२००७ सालको जनक्रान्तिको जगमा नेपालका सबै क्षेत्रमा रूपान्तरण सम्भव भएको हो । शिक्षा र चेतनाको विकाससँगै नागरिक आफ्नो कर्तव्यप्रति सजग र सचेत हुँदै गए । प्रजातन्त्र स्थापनासँगै सरकारलाई समेत सही काम गर्न दिशानिर्देश गर्ने, खबरदारी गर्ने र आफ्ना जनप्रतिनिधि आफैँ छान्न पाउनेजस्ता नागरिकका अधिकार स्थापित भएका छन् ।
राज्यका सबै संयन्त्रलाई चलायमान बनाउन खबरदारी गर्नेसम्मको अधिकार प्रत्याभूत भएको छ । अब अधिकार मात्रै खोज्ने नभइ आफ्नो कर्तव्य पालना गर्नेतर्फ पनि नागरिकले ध्यान दिनुपर्नेमा अग्रजहरुको जोड छ ।
अधिकार, हकहितको अनुभूति र अभ्यास गरेसँगै राज्यप्रति आफ्नो दायित्व पूरा गर्न र विकासमा आफ्नो भूमिका अझ सशक्त बनाउन नागरिकले ध्यान दिनुपर्ने बेला आएको छ । प्रजातन्त्र स्थापनापछि स्वतन्त्रताको अभ्यास गर्न पाइए पनि त्यसले उच्छृङ्खलता बढेको निष्कर्ष कतिपयको छ ।
सरकारसँगको सरोकार, सरकारलाई नागरिकप्रति उत्तरदायी र जिम्मेवार बनाउनेतर्फ जनताले खबरदारी गरिरहनुपर्ने हुन्छ । प्रजातन्त्रकै कारण सरकारका कामकारबाहीको मूल्यांकन गरी सच्चिन खबरदारी गर्नेसम्मको अधिकार जनतामा स्थापित भएको छ । प्रजातन्त्र प्राप्तिसँगै सीमान्तकृत नागरिकले आफ्ना अधिकार पाएका थिए ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले प्रजातन्त्रलाई नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् । सरकारले पनि विविध कार्यक्रमको आयोजना गरेर प्रजातन्त्र दिवस मनाउँदै छ ।























