
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको आमसञ्चार विधेयकमाथि संशोधनका लागि १२ वटा प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।
विधेयकमाथि सैद्धान्तिक छलफलपछि सभामुखले संशोधन प्रस्ताव पेश गर्नका लागि ७२ घण्टाको समय दिएका थिए । सो अवधिमा १२ वटा प्रस्ताव दर्ता भएको हो ।
विधेयकमाथि सत्तापक्ष नेकपा एमालेका प्रमुख सचेतक विदुरकुमार लिङ्थेप, कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ तथा विधायन समितिको सभापति कमला दर्नालसहित प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका तर्फबाट गणेशप्रसाद उप्रेती, सपना दर्जी, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, एकीकृत समाजवादीका सांसद कमलप्रसाद जबेगू, खिनु लङ्वा लिम्बूले संशोधनको प्रस्ताव दर्ता गरेका छन् ।
कांग्रेसका सांसद भीम पराजुली, हिमाल कार्की, शमशेर राई, एमालेका सांसद रमेशकुमार बस्नेत र होमबहादुर थापा पनि प्रस्ताव दर्ता गरेका छन् ।
सांसदहरुले आम संचार प्रतिष्ठानको संरचना, दण्ड र सजायको प्रस्ताव प्रावधान संशोधनका लागि प्रस्ताव पेश गरेका छन् । प्रतिष्ठानको संरचनामा अध्यक्षलाई कार्यकारी बनाउनु पर्ने र प्रेस रजिष्टार सरकारी कर्मचारी खटाउनु पर्ने प्रस्ताव पनि छ ।

























