
धरान । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा आपसी सद्भाव र सहयोगको भावना खस्कँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विश्वमा चरम भौतिक विकासको चाहना र बढेको होडबाजीले यस्तो अवस्था सिर्जना गरेको उनको भनाइ छ । ‘चरम भौतिक विकासको चाहना र होडबाजी बढ्दा समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव र सहयोगको भावना खस्कँदै गइरहेको रहेको छ,’ पौडेलले भने, ‘मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक देखिएको छ ।’
श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिबाट धरान उपमहानगरपालिका –८ स्थित राधाकृष्ण प्रणामी मन्दिर परिसरमा निर्मित धर्मशाला तथा गोपी स्मारक ध्यान साधनालयको उद्घाटनपछि आज (शुक्रबार) आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेको बताए । ‘मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौँतारिरहेको छ,’ उनले भने, ‘यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौं ।’
नेपालमा निजानन्द सम्प्रदायले चलाएको आध्यात्मिक जागरण र मानवसेवा अभियानले प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास राष्ट्रपति पौडेलको छ । जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको उनले बताए ।
‘जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो । हरेक धर्म, सम्प्रदायलाई यही रुपमा बुझ्नसके यसले समाजमा सहिष्णुता बढाउन मद्धत पुग्छ,’ उनले भने । राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्व र प्रधानता दिएको उल्लेख गरे । भने, ‘वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि यही निष्कर्ष दिनुभएको छ कि ‘परोपकार पुण्याय, पापाश्रय परपीडनम्’ ।’
पूर्वीय ज्ञान परम्पराको स्रोत रहेको हाम्रो देश नेपालमा ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति एवं सभ्यताको एकता तथा ऐक्यबद्घता देख्न सकिने राष्ट्रपति पौडेलले बताए । ‘यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्छ,’ उनले भने ।
राष्ट्रपति पौडेलले हाम्रो वैदिक सनातन हिन्दु धर्म प्राचीनकालदेखि चलिरहेको धर्म भएको र यो धर्मको विराटस्वरुपका कारण यसअन्तर्गत विभिन्न सम्प्रदायहरूको सृजना हुनु स्वभाविक नै मान्न सकिने उल्लेख गरे । धरानको नवनिर्मित धर्मशालालाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरुपमा खडा भएको आफूले अनुभूति गरेको उनको भनाइ छ ।
धर्मशाला उद्घाटनका लागि राष्ट्रपति पौडेल शुक्रबार नै धरान आएका हुन् । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा जगद्गुरु श्रीकृष्णमणि महाराजलगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।
























