माओवादीको जागरण अभियान : सडक छेकेर मञ्च निर्माण, विद्यालय बन्द गर्न दबाब

Share this
833shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १२, सोमबार २१:१०

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको तराई–मधेश जागरण अभियान विवादमा परेको छ । मोरङमा तय गरिएको कार्यक्रमले अभियानलाई विवादमा ल्याएको हो ।

माओवादीले अभियानअन्तर्गत मोरङमा गलत एवं विवादित बाटो अपनाएर खबरदारी सभाको तयारी गरिरहेको हो । झापाको कचनकवलबाट सोमबार अभियान सुरु भएको थियो । उक्त अभियानअन्तर्गतको कार्यक्रम मोरङको कानेपोखरीमा मंगलबार राखिएको छ ।

हुलाकी मार्ग एवं पूर्व–पश्चिम लोकमार्गमा आधारित जनतासँगको जागरण भनेर माओवादीले अभियान चलाएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कचनकवलमा अभियानको उद्घाटन गरेका थिए ।

खबरदारी सभाका लागि मोरङको कानेपोखरीका ४ वटा विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको छ । माओवादी केन्द्र कानेपोखरीले विद्यालयलाई पत्र पठाएर पठनपाठन बन्द गर्न दबाब दिएको हो ।

कानेपोखरी–६ रमाइलोमा तराई–मधेश जागरण अभियानअन्तर्गतको खबरदारी सभा कार्यक्रमका लागि पठनपाठन बन्द गर्न भनेर माओवादीले ४ वटा विद्यालयलाई पत्र पठाएको छ । माओवादीले बालजगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ट हर्माेन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई पत्र पठाएर फागुन १३ गते मंगलबार १ दिन विद्यालय बन्द गर्न भनेको हो ।

पार्टीको गाउँ कमिटीका अध्यक्ष दुर्गाबहादुर कार्कीले फागुन ८ गतेको मितिमा विद्यालयहरुलाई पठाएको पत्रमा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री देव गुरुङलगायतका नेताहरुको उपस्थितिमा बृहत् जनसभा कार्यक्रम आयोजना गरिएकाले सो दिन विद्यालय बन्द गरिदिन भनिएको छ ।

पत्रमा भनिएको छ, ‘कानेपोखरी–६ रमाइलोमा बृहत जनसभा ९ देखि १ बजेसम्म हुने भएकाले सवारीसाधनको चाप अत्यधिक हुने र उच्च ध्वनि भएका उपकरणहरुको प्रयोगका कारण विद्यार्थीमा ध्वनि प्रदूषण हुने भएकाले विद्यालय बिदा गरी कार्यक्रममा आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ ।’

अध्यक्ष कार्कीले पनि पार्टीको अभियानअन्तर्गत रमाइलो बजारमा कार्यक्रम राखिएको बताए । उनका अनुसार कार्यक्रमले नजिककै रहेका २ वटा विद्यालयलाई प्रत्यक्ष असर गर्ने देखिएकाले विद्यालयको पठनपाठन १ दिन बन्द गर्न आग्रह गरिएको हो ।

कार्कीले भने ,‘माओवादीले ४ वटा विद्यालय बन्द गर्न दबाब दिएको भन्दै हल्ला मच्चाएको पाएँ । त्यस्तो हैन, बालबालिकालाई असर गर्ला भनेर मात्र कार्यक्रमस्थल नजिकका २ वटा विद्यालयलाई भनेका हौं । दबाब दिएका छैनौं । आग्रह गरेका हौं ।’

अर्कोतर्फ माओवादीको खबरदारी सभाका लागि रंगेली–कानेपोखरी सडक ढाकेर मञ्च निर्माण गरिएको छ । सडक छेकेर मञ्च बनाइएपछि सोमबारदेखि नै उक्त सडकमा सवारी आवागमन प्रभावित बन्यो । सवारीसाधन ‘डाइभर्ट’ गरेर चलाइएको छ ।

अध्यक्ष कार्कीले चोकनै ढाकेर कार्यक्रम आयोजना नहुने बताए । यातायात आवत–जावतमा अवरुद्ध नहुने गरी कार्यक्रम गरिने उनको भनाइ छ । कार्यक्रममा करिब ५ हजार देखि ७ हजारको उपस्थिति हुने अनुमान रहेको उनले बताए ।

बालजगत बोर्डिङका प्रिन्सीपल दानबहादुर बस्नेतले विद्यालय बन्द गर्न दबाबमूलक पत्र आएको बताए । उनले दबाबमूलक पत्र आए पनि विद्यालयमा पठनपाठन सुचारु नै रहने जानकारी दिए । आफूहरुले पठनपाठन बन्द नगर्ने र अरुले के गर्छन् भनेर थाहा नभएको कार्कीले बताए ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यन्वयन निर्देशिका, २०६८ ले विद्यालय हाताभित्र र यसको वरिपरि विद्यालय सञ्चालनमा बाधा पुग्नेगरी राजनीतिक सभा, सम्मेलन, नारा, जुलुस वा विरोधका गतिविधि सञ्चालन गर्न बन्देज गरेको छ । उक्त व्यवस्थाविपरीत माओवादीले पठनपाठन नै बन्द गर्न दबाब दिएर स्कुलको छेउमा कार्यक्रम गर्न लागेको हो ।

अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थीले २०६८ जेठ १० गते विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भन्दै पठनपाठन प्रभावित हुने गरिका गतिविधि गर्न नपाइने बताए । विद्यालय आसपास पठनपाठन प्रभावित हुने गरी राजनैतिक गतिविधि गर्न नमिल्ने उनको भनाइ छ ।

ध्वनिको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ अनुसार ग्रामीण क्षेत्रमा दिउँसोको समयमा ध्वनि ४५ डेसिवल हुनुपर्ने व्यवस्था छ । तर, माओवादी केन्द्रले विद्यालयमा पठाएको पत्रमा उच्च ध्वनि प्रयोग गरिने उल्लेख छ ।

माओवादीको मोरङको कार्यक्रम अनुसार मंगलबार बिहान ९ बजेसम्म प्रचण्ड कानेपोखरीमा चिया नास्ता खाएसँगै स्थानीय जयराज लिम्बूको घरमा कार्यकर्ता भेटघाटमा व्यस्त हुने छन् । त्यसपछि कानेपोखरीको रमाइलो बजारमा बिहान साढे ११ बजे खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्डसहितको टोलीले दिउँसो १२ बजेपछि सुनवर्षी नगरपालिका–९ स्थित कदमगाछीमा सुधीर मण्डलको घरमा खाना खाने तय भएको छ । त्यही क्रममा टोलीले सहिद परिवार जुब्बा सोरेनको परिवारसँग संक्षिप्त भेट गर्ने छ ।

रतुवामाइस्थित आमबारीमा दिउँसो अढाई बजेसम्म खबरदारी सभा हुने र त्यसपछि अध्यक्ष प्रचण्डसहितको टोलीले धनपालथान गाउँपालिकाको कर्सियामा हुने खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ । खबरदारीसँगै कार्यकर्ता भेटघाटमा व्यस्त रहने टोली राति जादबुढियामा बस्ने बताइएको छ । अध्यक्ष दाहालसहितको टोली बुधबार बिहान विराटनगर आउने छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.