
काठमाडौं । जसपा (जनता समाजवादी पार्टी) नेपालले भूमि अध्यादेश पास हुन नदिने अडान लिएको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले भूमि अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका छन् । भूमि अध्यादेशबारे छलफल गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खरिदबिक्री गरेर अध्यादेश पारित गर्नतिर नलाग्न उनले सरकारलाई चेतावनी दिएका छन् ।
‘हामीले सरकारलाई स्पष्ट भनेका छौं, यो अध्यादेश दाउपेज, जालझेल, सांसद खरिद बिक्रि गरेर अहिले माफियाहरुले भन्छन् रे कति करोड अर्ब चाहिन्छ सांसद किन्नुस् र पास गर्नुस् भनेको सुन्दैछु । त्यो धन्दामा लाग्नुजस्तो देशघाती काम केही हुँदैन । सरकारले फिर्ता लिए हुन्छ विगतमा पनि धेरै अध्यादेश फिर्ता लिएको इतिहास छ,’ यादवले भने ।
उनले सरकारले जालझेल गरेर अध्यादेश पारित गर्न खोजेको जनआन्दोलनमा जाने चेतावनी दिएका छन् । सरकारमा भएकाहरुको नियत भूमिहीनहरुको समस्या समाधान गर्नुभन्दा पनि भूमाफियामार्फत अनुचित लाभमा केन्द्रित हुने रहेको आरोप यादवले लगाएका छन् ।

























