
विराटनगर । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) विराटनगर आउँदैछन् ।
एमाले मोरङको १० औं जिल्ला अधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री आउने भएका हुन् । प्रधानमन्त्री आउने भएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । एमाले मोरङको शनिबारदेखि सुरु हुने अधिवेशन सोमबारसम्म विराटनगरको होटल मनास्लु इनमा हुने छ ।
अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् । जसमध्ये १७ वटा स्थानीय तहको १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनित ४६ गरी ९ सय १४ जना प्रतिनिधि चयन गरिएको छ ।
एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको छ । जिल्लाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा छनोट गर्ने अधिकतम प्रयास रहने उनको भनाइ छ ।
एमाले मोरङको अध्यक्षमा कार्कीसहित राजकुमार ओझा र अजम्बर राई आकांक्षी देखिएका छन् । नेतृत्व चयन सर्वसम्मत नभए निर्वाचन हुनेछ ।

























