
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रिङ्कुकुमारी सदाको घरमा पुगेका छन् । गाउँको पञ्चयातमा सामूहिक बलात्कारको बयान दिएपछि मृत भेटिएकी सिरहाको नवराजपुर गाउँपालिका– १ भगवतीपुर स्थित सदाको घर पुगेका हुन् ।
जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा पुगेका अध्यक्ष प्रचण्ड रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको बताए । उनले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताए ।
गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेका थिए । उनी त्यसपछि घरमै मृत फेला परेकी थिइन् ।
प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी गराएको उल्लेख गर्दै उनले छानबिनलाई चाँडो निष्कर्षमा पुर्याउन प्रहरीलाई आग्रह गरेको बताए ।
उनले रिङ्कुको न्यायका लागि मुसहर समुदायले गरिरहेको संघर्षप्रति पनि एक्यवद्धता जनाए ।
रिङ्कुकै घरमा संघर्ष समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई मधेसका विभेद, अपमान र अत्याचारका विरुद्ध आवाज उठाउन नै पार्टीले तराई मधेस जागरण अभियान सञ्चालन गरेको र यस्ता घटनाका विरुद्ध निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाए ।

























