
विराटनगर । नेकपा (एमाले) मोरङको १० औं अधिवेशनअन्तर्गतको मतगणना सुरु भएको छ । आज (बिहीबार) बिहान ८ बजेपछि सुरु गर्ने भनिएको मतगणना दिउँसो ३ बजेबाट सुरु भएको हो ।
निर्वाचन समितिले प्राविधिक समस्याका कारण समयमा मतगणना सुरु हुन नसकेको जनाएको छ । मतगणना एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा भइरहेको छ । पदाधिकारी र सदस्यको एकैपटक गणना सुरु भएको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नसकिएसम्म मतगणनालाई निरन्तरता दिइने छ । एमालेको जिल्ला नेतृत्व टुंगो लगाउन बुधबार विराटनगरको होटल मनास्लु इन मतगणना भएको थियो । त्यहाँबाट गणनाका लागि मतपेटिका बुधबार राति नै पार्टी कार्यालय पुर्याइएको थियो ।
मतगणना सकिनसाथ मतपरिणाम सार्वजनिक गरिने श्रेष्ठले बताए । मतदानमा ८ सय ८८ त खसेको छ । ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित रहे ।
एमाले मोरङको १० औं जिल्ला अधिवेशन फागुन १७ गतेबाट सुरु भएको हो। नयाँ नेतृत्व चयनका लागि मतदान गर्नुपर्ने भएपछि सोमबार सक्ने भनिएको अधिवेशन विभिन्न कारणले लम्बियो ।
एमाले मोरङको नयाँ जिल्ला कमिटी ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय हुने छ । तीमध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । निर्विरोध भएबाहेकको पदका लागि निर्वाचन भएको हो ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीको उम्मेदवारी परेको थियो ।
इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा छन् ।
























