
विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनबाट इतर पक्षको प्यानलै विजयी भएको छ ।
अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र महिला उपसचिवमा उषा झा विजयी भएका हुन् । विजयी भएकाहरु सबैले इतर पक्षबाट उम्मेदवारी दिएका थिए ।
पार्टीको संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा ईर्जालाल राजवंशी र महिला उपसचिवमा शिल्पा निराला कार्कीले उम्मेदवारी दिएका थिए । उनीहरु सबै पराजित भएका छन् ।
विजयी र पराजित भएकाहरु कति मत प्राप्त गरे भनेर यकिन हुन बाँकी छ । निर्वाचन समितिले आधिकारिक घोषणा गरेपछि प्राप्त मत यकिन हुन्छ । केही बेरमै समितिले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने छ ।
एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो । जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो । ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएका थिए ।
एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो । बिहीबार दिउँसोबाट पार्टी कार्यालय पाञ्चालीमा मतगणना सुरु गरिएको थियो ।
























