एमाले मोरङको अध्यक्षमा निर्वाचित अजम्बर राईको यस्तो छ राजनीतिक पृष्ठभूमि

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २४, शनिबार ०९:०५

विराटनगर । नेकपा (एमाले) मोरङको १० औं अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका ६५ वर्षीय अजम्बर राई पार्टी संगठनमा लागेर महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता हुन् ।

कम्युनिष्ट आन्दोनलमा लागेर पार्टीमा संगठित भएको ३४ वर्षपछि उनी एमाले मोरङको नेतृत्वमा पुग्न सफल भए । राई २०३६ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेका हुन् । २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरे ।

गाउँकमिटी सदस्य, सचिव, इलाका कमिटी सदस्य, इलाका कमिटी सचिव, क्षेत्रीय कमिटीको अध्यक्ष, क्षेत्रीय इन्चार्ज, जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य हुँदै अहिले एमाले मोरङको अध्यक्षमा निर्वाचित भएका हुन् । राई अहिले जिल्ला समन्वय समिति मोरङको प्रमुख छन् ।

मोरङ सुन्दरहरैँचाका बासिन्दा उनी ४ वर्ष शिक्षण पेसासमेत आबद्ध भए । २०३६ देखि २०४० सालसम्म सौँठा माविमा शिक्षण गरेका उनी त्यसपछि पूर्णकालीन राजनीतिमा लागे । हालसम्म अविचलित रूपमा एमालेको राजनीतिमा सक्रिय रहेको उनले बताए ।

राई २०४९ सालमा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । २०५४ सालमा तत्कालीन जिल्ला विकास समिति मोरङको सदस्य भए । जनप्रतिनिधिको भूमिकामा रहेर पार्टीको संगठन विस्तारमा समेत सक्रिय भएका राई एमाले मोरङको ४ कार्यकाल सदस्य भए ।

एमाले कोशी प्रदेश कमिटी सदस्यसमेतको जिम्मेवारीमा रहेका उनले गतवर्ष सम्पन्न पार्टीको प्रदेश अधिवेशनको कुनै पनि पदमा उम्मेदवारी दिएनन् । स्थानीयस्तरका सामाजिक संघ संस्था, साना किसान सहकारीलगायतमा रहेर सामाजिक क्षेत्रमा उत्तिकै योगदान दिएका उनी २०६२–०६३ को जनआन्दोलनमा सक्रियतापूर्वक खटिए ।

पार्टी संगठनमा लामो अनुभव संगालेका राईले एमालेलाई १ ढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् । ‘कसैलाई काखा–पाखा नगरिकन सबैको सल्लाह, सुझाव अनुसार अघि बढ्छु । साथीहरुको सल्लाह र सुझावभन्दा बाहिर गएर काम गर्दिन,’ उनले भने ।

एमाले मोरङको १० औं जिल्ला अधिवेशनमा राईले इतर पक्षबाट उम्मेदवारी दिएका छन् । उनीसँग संस्थापन पक्षका राजकुमार ओझा ३९ मतान्तरले अध्यक्षमा पराजित भए । पार्टी कार्यालय पाञ्चालीमा शुक्रबार साँझ मतगणना सम्पन्न हुँदा राईले ४ सय ४६ मत पाए । ओझाले ४ सय ७ मत ल्याए ।

कोशी प्रदेशका पूर्वप्रदेशसभा सदस्यसमेत रहेका ओझा पनि सुन्दरहरैँचाका बासिन्दा हुन् । एमाले मोरङको उपाध्यक्षमा ४ सय २२ मत ल्याएर सागर थापा निर्वाचित भए । उनी एमाले विराटनगर महानगरपालिकाका पूर्वअध्यक्ष हुन् ।

विराटनगरको मानगढ खोनपानी आयोजनाको निर्वाचनमा पार्टीको निर्देशन नमानिकन अर्कै उम्मेदवारलाई सहयोग गरेको आरोप लगाउँदै एमालेले उनलाई कारबाही गरेको थियो । उनी लगायतमाथि कारबाहीको डण्डा चलाउँदा एमालेको चौतर्फी आलोचना भयो ।

पार्टीको जिल्ला सचिवमा सोमराज थापा ४ सय ६१ मत ल्याएर विजयी भए । अधिवक्तासमेत रहेका उनीसँग मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मा आबद्ध भएर लामो समय काम गरेको अनुभव छ । इन्सेक छाडेपछि उनी पार्टीको सक्रिय राजनीनिमा लागेका हुन् ।

एमाले मोरङको उपसचिवमा भारी मतका साथ सन्तोष वान्तवा निर्वाचित भएका छन् । सुन्दरहरैँचाका बासिन्दा उनले ४ सय ९० मत ल्याए । महिला उपसचिवमा उषा झा ४ सय १८ मत ल्याएर विजयी भइन् । उनी जिल्ला समन्वय समिति मोरङको उपप्रमुख हुन् ।

एमाले मोरङको पदाधिकारीमा निर्वाचित भएका सबै संस्थापनइतर समूहका हुन् । मोरङमा इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन् । एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.