
विराटनगर । केही दिन अघि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउन लाग्दा विमानस्थल क्षेत्रदेखि निर्मल निवास सम्म स्वागत प्रदर्शन भयो । सोही प्रदर्शनमा एउटा पोस्टर थियो भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको । यो पोस्टरले धेरैको ध्यान खिच्यो पनि ।
सोही पोस्टरका कारण उक्त प्रदर्शन विवादित पनि बनेको थियो । आखिर कसले बोकेका थिए त योगी आदित्यनाथको पोस्टर ? धेरैको मनमा प्रश्न होला । सो पोस्टर काठमाडौंको वडा नम्बर १६ का प्रदीपविक्रम राणाले बोकेर प्रदर्शनमा सहभागी भएको खुलेको छ । अझै रोचक कुरा त उनी अहिले भागेर भारत पुगेका छन् ।
उनले भारतीय समाचार संस्था नवभारत टाइम्सलाई दिएको प्रतिक्रिया अनुसार प्रहरी उनको पछि लागेपछि उनी नेपालबाट भागेका हुन् । उक्त समाचारमा जनाइएअनुसार ५८ वर्षीय राणा मंगलबार भागेर गोरखपुर पुगेका हुन् ।
उनले भारत सरकार र योगी आदित्यनाथसँग मिलेर आफू सरकार गिराउने खेलमा रहेको प्रहरीले ठानेको सम्म उक्त समाचारमा भन्न भ्याएका छन् ।
उनले योगी आदित्यनाथलगायत भारतीय नेताहरूसँग आफ्नो भेट नभएको उल्लेख गरेका छन् । नवभारत टाइम्सलाई उनले आफू सम्पन्न भएको मात्र बताएका छैनन्, छोरी पाइलट र छोरो डाक्टर भएको समेत उल्लेख गरेका छन् ।
























