कोशी प्रदेशमा होली : हिमाली र पहाडी जिल्लामा शान्तिपूर्ण, तराईमा कस्तो छ सुरक्षा तयारी ?

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २९, बिहीबार १८:११

विराटनगर । कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लामा बिहीबार शान्तिपूर्ण रूपमा होली मनाइएको छ ।

यो समाचार तयार पार्दासम्म होली मनाउने क्रममा कुनै अप्रिय घटना नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ‘हिमाली तथा पहाडी जिल्लामा होली मर्यादित र शान्तिपूर्ण भएको छ । होलीलाई लक्षित गरेर त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाइयो । सम्भावित घटना रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर, कुनै पनि अप्रिय घटना भएन,’ कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले भने ।

हिमाली एवं पहाडी जिल्लामध्ये बिहीबार ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा होली मनाइएको प्रहरीले जनाएको छ । यद्यपि, उदयपुरका केही स्थानमा तराईमा मनाउने दिन होली खेल्ने चलन छ ।

होलीमा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका केही सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डीआईजी अधिकारीका अनुसार विभिन्न स्थानबाट २ पांग्रे १० वटा, ४ पांग्रे २ वटा तथा ३ पांग्रे एउटा सवारीसाधन नियन्त्रणमा लिएर प्रहरीले ‘होल्ड’ गरेको छ । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाही गरेर छाड्ने प्रहरीको तयारी छ ।

यसैबीच, शुक्रबार तराईमा होली मनाइँदै छ । हिमाली तथा पहाडी जिल्लामा होली मनाएको भोलिपल्ट तराईमा एकआपसमा रंग दलेर रमाइलो गर्दै हर्षोल्लासपूर्ण तरिकाले होली मनाउने प्रचलन छ ।

कोशी प्रदेशमा झापा, मोरङ र सुनसरीसहित उदयपुरका केही स्थानमा शुक्रबार होली मनाइने छ । तराईको होलीलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको डीआईजी अधिकारीले बताए ।

उनका अनुसार राष्ट्रिय पर्व होलीलाई मर्यादित, भव्य र सभ्य तरिकाले मनाउने वातावरण बनाउन उच्छृङ्खल गतिविधि हुनसक्ने सम्भावित स्थानको पहिचान गरेर त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको छ । विगतमा भएका अपराधिक एवं उच्छृङ्खल घटना तथा भिडभाड बढी हुने स्थानलाई लक्षित गरेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जानकारी अधिकारीले दिए ।

डीआईजी राजन अधिकारी

होली लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गरिएको छ । हिमाली एवं पहाडी जिल्लाको तुलनामा तराईमा अलि बढी चुनौती हुने सुरक्षा विश्लेषण छ । डीआईजी अधिकारीले होलीलाई सभ्य, भव्य, सु–संस्कृत र शान्तिपूर्ण बनाउन सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत सचेतनामूलक सन्देशहरु प्रवाह गरिएको बताए । साथै, माइकिङको काम पनि भइरहेको छ ।

सवारी दुर्घटना नियन्त्रणका लागि ठाउँठाउँमा ट्राफिक प्रहरीसहितको चेकजाँचको व्यवस्था मिलाइएको उनको भनाइ छ । होलीमा कुनै प्रकारका अप्रिय घटनाहरु नहुन् भन्ने उद्देश्यले सुरक्षा जाँचमा कडाइ गर्दै मोबाइल गस्ती, क्यूआरटी, सादा पोसाकसहित पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको जानकारी डीआईजी अधिकारीले दिए ।

रंगहरुको पर्व होलीमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न सबैलाई सचेत गराइएको उनको भनाइ छ । पर्व मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्बर्द्धन र प्रवर्धनबाहेक अन्य उच्छृङ्खल गतिविधि गर्न नहुनेमा सुरक्षा निकायको जोड छ ।

एकअर्काको इच्छाविपरीत जबरजस्ती गर्न खोजे कानुनी कारबाहीको विषय बन्ने अधिकारीले बताए । उनका अनुसार रमाइलो गर्ने नाममा इच्छाविपरीत जबरजस्ती रंग र लोला हान्ने तथा फोहोर छ्याप्ने, बाटोमा हिँड्ने यात्रीलाई दुःख एवं कष्ट र हैरानी दिने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउनेजस्ता कार्य गर्न पाइने छैन ।

त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउन, सार्वजनिक स्थानहरुमा हो–हल्ला गर्न, चर्को आवाजमा बाजा (डिजे) बजाउन, व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु गर्न–गराउन रोक लगाइएको उनले बताए । प्रहरीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होली खेल्न अनुरोध गरेको छ ।

होली पर्वलाई व्यवस्थित, मर्यादित र मनोरञ्जनपूर्ण हिसाबले मनाउँदै समाजमा शान्ति, सुव्यवस्था र सद्धभाव कायम गर्ने कार्यमा सहयोग गर्न डीआईजी अधिकारीले सबैमा अनुरोध गरेका छन् । रोक लगाइएका कार्य र अवाञ्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी उनले दिए ।

‘रमाइलो गर्ने नाममा अरुलाई असर पुर्याउन पाइने छैन । कोही कसैले कानुनविपरीतका गतिविधि गरेमा कारबाही हुन्छ,’ उनले भने । कुनै ठाउँमा गैरकानुनी र अवाञ्छित गतिविधि भएमा तत्काल सूचना दिएर सहयोग गर्न डीआईजी अधिकारीले सबैमा आह्वान गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.