
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माणलाई दीर्घकालसम्म टिकाउनका लागि पूर्वाधार नीति बनाएर अगाडि बढाउनु पर्ने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको पूर्वाधार नीति तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति बनाएर काम गर्दा योजना आयोगको आवधिक योजना र सरकारका वार्षिक कार्यक्रमहरूसम्म तार्तम्य मिल्ने र यसले विकासलाई सही ढंगले अगाडि बढाउन सहयोग पुग्ने बताए ।
‘हाम्रा आवधिक योजना र नीतिहरु एकातिर सरकारका वार्षिक नीति र कार्यक्रम अर्कोतिर हुने परिपाटी मिल्न नसकेकाले यसलाई मिलाएर अगाडि लैजानुपर्ने अवस्था रहेको छ,’ उनले भने,‘ विकास निर्माणहरू नीति बनाएर नै गर्नुपर्ने आवश्यकता छ ।’
मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनलाई ख्याल नगर्दा विकास निर्माणले विपत्ति निम्त्याएको बताए । विपत्ति र जलवायु परिवर्तनको जोखिमलाई आंकलन गरेर नीति बन्नुपर्ने कुरामा ध्यान जानुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले सडक र पुलहरू बनाउने बित्तिकै भत्किने अहिलेको अवस्था रहेको बताए ।
मुख्यमन्त्री कार्कीले पूर्वाधार नीति राम्रो बनाउन सके विकास टिकाउ र दीर्घकालीन हुने बताउँदै विपत र जलवायुलाई ध्यान दिएर पूर्वाधार नीति तर्जुमा गर्नुपर्ने बताए ।
























