काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका छन् ।
एसईई आज (बिहीबार)बाट सुरु हुँदैछ । ओलीले १ भिडियो सन्देश जारी गर्दै विद्यार्थीहरूलाई नआत्तिई परीक्षा दिन आग्रह गरेका छन् । ‘अघिल्लो वर्ष अलिक नतिजा त्यति राम्रो भएन । यस पटक मैले राम्रो नतिजाको अपेक्षा तपाईंहरुसँग गरेको छु’, ओलीले भने ।
पहिला–पहिला एसर्इईलाई फलामे ढोका भनिने भएकाले पनि विद्यार्थीलाई त्रास बढाउने गरेको उउनले बताए । ‘तपाईंहरु परीक्षासँग नतर्सिनुस्, परीक्षा जीवनका कदम–कदममा र मोड–मोडमा आइरहने चिज हो । तपाईंहरु धेरै परीक्षा उत्तीर्ण गरेर यहाँसम्म आइपुग्नु भएको छ । भविष्यमा पनि तपाईंहरुको अनेक परीक्षा पार गर्नुपर्ने हुन्छ,’ ओलीले भने ।
उनले धैर्यताका साथ नआत्तिकन राम्रो तयारी गरेर परीक्षा दिन आग्रह गरेका छन् । अनिदो र थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भन्दै प्रधानमन्त्री ओलीले त्यसबाट जोगिन आग्रह गरेका छन् ।
‘एसईई परीक्षा आइहाल्यो, त्यस कारण तपाईंहरुसँग खेर फाल्ने समय छैन । मेरो धेरै–धेरै शुभकामना छ । तपाईंहरु राम्रो अंक प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुस् । सबै जनालाई धेरै–धेरै शुभकामना छ,’ ओलीले सन्देशमा भनेका छन् ।