कोशीको अधिवेशन अन्त्य गर्दा माओवादी असन्तुष्ट

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ७, बिहीबार १९:५६

विराटनगर । कोशी प्रदेशसभाको चालु एवं छैटौं अधिवेशन अन्त्य भएको छ । प्रदेशाके मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन् ।

एक्कासि अधिवेशन अन्त्य गरेपछि नेकपा (माओवादी केन्द्र)ले भने आपत्ति जनाएको छ । आफ्नो असक्षमताका विषयमा सार्वजनिक आलोचना हुने भएपछि सरकारले अधिवेशन अन्त्य गरेको दाबी माओवादीको छ ।

अधिवेशन अकस्मात अन्त्य गर्ने निर्णय ‘संसदीय परम्पराविपरीत’ रहेको माओवादीले बताएको छ । ‘दोस्रो प्रदेशसभा गठन भएको २ वर्ष पूरा भइसक्दासमेत प्रदेशसभा सञ्चालन नियमावली पारित गर्ने प्रयास नहुनु आश्चर्यजनक छ । साथै, सांसदहरूले गैरसरकारी विधेयकको रूपमा प्रदेशको कामकाजी भाषा सम्बन्धी विधेयक दर्ता गरे पनि त्यसलाई छलफलमा लैजानु त परै जाओस् । बैठकमै पेस नगरी अधिवेशन अन्त्य गर्नु सरकारको कानुन निर्माणप्रति असंवेदनशीलता दर्शाउँछ,’ माओवादी प्रमुख सचेतक गीता तिम्सिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘सरकारको कामकारबाहीप्रति जनस्तरमा असन्तुष्टि बढिरहेका बेला प्रदेशसभा सदस्यहरूले उठाएका गम्भीर प्रश्नहरूलाई बेवास्ता गर्दै अधिवेशन अन्त्य गर्नु अत्यन्त आपत्तिजनक छ ।’

सरकारप्रति जनताको विश्वास खस्कँदै गएको अवस्थामा जनताको सरोकार र मुद्दा उठ्ने प्रदेशसभाजस्तो लोकतान्त्रिक मञ्चलाई निष्क्रिय बनाउनु गम्भीर भएको माओवादीको दाबी छ । ‘यसले सरकारको असफल कार्यक्षमता उजार मात्र गरेको छैन,’ माओवादीले भनेको छ,‘ जिम्मेवारी पूरा गर्न पूर्ण रुपमा असफल भएको देखिएको छ ।’

सरकारले भने बजेट निर्माणमा केन्द्रीत हुनुपर्ने समय आएकाले अधिवेशन अन्त्य गरिएको दाबी गरेको छ । गत फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि बसेको बैठकले धन्यवाद प्रस्ताव पारित गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको थियो । ९ दिनसम्म चुपचाप रहेको सरकारले बिहीबार एक्कासि अधिवेशन अन्त्य गरेको हो ।

‘हतारमा अन्त्य गरिएको होइन । केही दिन मुख्यमन्त्री कामले काठमाडौं जानु भएको थियो । प्रमुख सचिव भोलिदेखि जरुरी कामले काठमाडौं जाने । ५–७ दिन उहाँ नआउने । हतारमा होइन ‘सेड्युल’मै अन्त्य भएको हो,’ कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले भने,‘ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसँग, सभामुखसँग सल्लाह हुन्छ, सबैसँग सल्लाह गर्ने चलन नै छैन ।’

‘प्रदेशसभा अधिकांश सदस्यहरु आ–आफ्नो जिल्ला फर्किएर गएकाले पनि अधिवेशन अन्त्य गर्नु परेको उनको भनाइ छ । ‘आगामी बर्खे अधिवेशनको तयारीमा सांसदहरु लाग्नु भएको छ । बरु बर्खे अधिवेशन चाँडै बोलाउँला,’ भण्डारीले भने । उनका अनुसार छैटौं अधिवेशनबाट प्रदेशले ६ वटा विधेयक पास गरेको छ । यो उपलब्धिमूलक रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.