
विराटनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्रभाव क्षेत्र मानिएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादव विजयी भए ।
नेविसंघको प्रभाव रहेको तथा नेता उत्पादन गर्ने थलोको रुपमा परिचित महेन्द्र मोरङमा यादव विजयी हुँदा नेविसंघ उम्मेदवार प्रज्वल विष्टसँगको मतान्तर ४३ मात्रै थियो । नेविसंघभित्रकै विवादका कारण देशको प्रतिष्ठित क्याम्पसमा झिनो मतान्तरले पराजित हुनु परेको नेविसंघ संघ केन्द्रीय सदस्य अभिषेक भट्टराई बताउँछन् । ‘संगठनभित्रको विवाद समाधान नगरी चुनावमा गइयो,’उनले भने,‘ आधिकारिक उम्मेदवारविरुद्ध संगठनभित्रैबाट बागी उम्मेदवारी पर्यो ।’
महेन्द्र मोरङमा नेविसंघ संस्थापन पक्षबाट प्रज्वल विष्ट उम्मेदवार थिए । डाक्टर कोइराला पक्षबाट योगराज दाहालले उम्मेदवारी दिए । विष्टलाई डाक्टर शेखर कोइराला पक्षकै नेता तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पनि समर्थन गरेका थिए । अर्का उम्मेदवार दाहाललाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा डाक्टर कोइराला पक्षका नेता केदार कार्कीले समर्थन गरेका थिए ।
कार्कीलाई डाक्टर कोइरालाले आफ्नो पक्षबाट स्ववियुको निर्वाचन हेर्ने जिम्मेवारी दिएका थिए । तर, महेन्द्र मोरङमा कार्कीले विवाद समाधान गर्न भूमिका खेलेनन् । उल्टै आफ्नो छुट्टै टिम खडा गरे । जसका कारण नेविसंघको आधिकारिक उम्मेदवार पराजित भएको नेविसंघ संस्थापन पक्षका नेताहरु बताउँछन् ।
स्ववियु सभापति निर्वाचित अखिल क्रान्तिकारी उम्मेदवार रोहित यादवले १ हजार १ सय १८ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी नेविसंघ उम्मेदवार विष्टले १ हजार ७५ मत प्राप्त गरे । उनीहरुको मतान्तर जम्मा ४३ छ । नेविसंघ इतर पक्षबाट सभापतिको उम्मेदवार बनेका योगराज दाहालले जम्मा ६० मत प्राप्त गरे । जुन मत नेविसंघ आधिकारिक उम्मेदवारलाई हराउन पर्याप्त थियो । एमाले अनेरास्ववियु उम्मेदवार अनिष बोगटीले २ सय ३२ मत मात्रै प्राप्त गरे ।
महेन्द्र मोरङको स्ववियुमा अखिल क्रान्तिकारीले सभापति र १ जना सदस्य मात्रै जितेको छ । बाँकी पदमा नेविसंघ उम्मेदवार विजयी भएका छन् । समानुपातिकतर्फ नेविसंघले १ हजार १ सय ११ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीले ८ सय ११ मत मात्रै प्राप्त गरेको छ ।
इतर पक्षको दाबी अनुसार ३ सय बढी भोट त नेविसंघबाट क्रस भएर क्रान्तिकारी उम्मेदवार यादवलाई गएको छ । संगठनका उम्मेदवारविरुद्धको माहोल सृजना हुनुको अर्को कारण नेविसंघ जिल्ला सभापति सरोज पोखरेलमाथिको आक्रमण पनि हो । इतर पक्षका सभापति पोखरेललाई स्ववियु सभापति जसवन्त पौडेलसहित संस्थापन पक्षका विद्यार्थीले निर्घात कुटपिट गरेका थिए ।
‘संस्थापन पक्षले पेलेर अघि बढ्यो । पेलेर अघि बढेपछिको परिणाम हो यो,’ कोइराला पक्षका एक विद्यार्थी नेताले भने, ‘हिजो जसवन्त पौडेलले सभापति जित्दा हाम्रो टिमको सचिव उम्मेदवारलाई हराएर अनेरास्ववियुका उम्मेदवार सनिम ठकुरीलाई जिताए । यसपाली हामी जित्न सक्ने अवस्थामा त थिएनौं । तर, हराउन पर्याप्त थियौं ।’
कोइराला पक्षका नेता केदार कार्की पनि महेन्द्र मोरङको विवाद समाधानका विषयमा संस्थापन पक्ष जिम्मेवार नभएको बताउँछन् ।
























