
नवलपरासी । गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा शनिबार आयोजित कार्यक्रममा उनले गणतन्त्रको विकल्प नभएको बताएका हुन् ।
“मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन् । बेरोजगारी, आर्थिक शिक्षा, विकास पूर्वाधारमा समस्या छन् । सोचेअनुसार आर्थिक वृद्धि गर्न सकिएको छैन,” गृहमन्त्री लेखकले भने,“तर, नेपालमा समस्या मात्रै छन् भनेर बनाउन खोजिएको भाष्य सत्य होइन । विभिन्न चुनौती र समस्याका बाबजुत धेरै काम भएका छन् । धेरै काम गर्ने प्रयत्न भइरहेको छ ।”
उनले गणतन्त्रले केही दिएन, लोकतन्त्रले केही भएन भनेर निरङ्कुशताको कुरा गर्नु गलत भएको भन्दै यस्ता गलत प्रचारको पछि नलाग्न सबैलाई आग्रह गरे ।
“लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था र गणतन्त्रको विकल्प राजतन्त्र वा अरु केही हुन सक्दैन । गणतन्त्रको स्थापनापछि धेरै उपलब्धि भएका छन्, यसको गति बढाउन सबैबाट इमान्दार प्रयत्न आवश्यक छ । यसमा नागरिक, दल र सरकार मिलेर अगाडि बढ्नुको विकल्प छैन,” मन्त्री लेखकले भने ।
























