
विराटनगर । मोरङ जिल्लाको अधिवेशनमा अनपेक्षित नतिजा आएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले मोरङका नेता विनोद ढकालसँग भेटेघाट गरेका छन् ।
एमालेको १०औं जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले समर्थन गरेका उम्मेदवारलाई पराजित गर्दै अध्यक्षसहित पदाधिकारीमा ढकालले आफ्नो प्यानललाई नै विजयी गराएका थिए । त्यसपछि ओलीले ढकाललाई बालुवाटार बोलाएर भेटेका हुन् ।
कुनै समय ओलीका विश्वास पात्र ढकालसँग ओलीको सम्बन्ध चिसिएको थियो । काठमाडौं पुगेका ढकालले शुक्रबार बेलुका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् ।
ढकालले अध्यक्ष ओलीसँग भेट भएको बताए । ‘अस्ती बेलुका अध्यक्षज्यूसँग भेटघाट भयो,’ उनले भने,‘पार्टीका विषयमा कुराकानी भयो ।’
ओलीले ढकाललाई १८ महिनापछि भेट दिएका हुन् । यसअघि २०८० असोज ६ गते उनले भेटेका थिए ।
ढकाल निकट एक नेताका अनुसार ओलीलाई ढकालले आफूबारे गरिएको गलत व्रिफिङका बारेमा जानकारी गराएका थिए ।
२०८० असोज १२ गते एमाले कोशी प्रदेश अधिवेशन अघि ओलीले ढकाललाई भेटेर अध्यक्षमा घनश्याम खतिवडालाई सहयोग गर्न आग्रह गरेका थिए । तर ढकाल तयार भएनन् । अध्यक्षमा उम्मेदवारी दिएका ढकाल पराजित भए । त्यसयता ओलीले भेट दिएका थिएनन् । ओली पूर्व आउँदा ढकाल भने स्वागतका लागि पुग्ने गरेका थिए ।
प्रदेश अधिवेशन अघि र पछि ओली निवास बालकोटको ढोका ढकालका लागि बन्द जस्तै थियो । जिल्ला अधिवेशनमा अनपेक्षित नजिता निकालेपछि ओलीले ढकाललाई स्पेस दिएको एमाले नेताहरु बताउँछन् ।
गत फागुन २३ गते एमाले जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले समर्थन गरेका राजकुमार ओझालाई पराजित गर्दै विनोद ढकालले समर्थन गरेका अजम्बर राई अध्यक्षमा निर्वाचित भएका थिए ।
तत्कालिन एमालेमा माधवकुमार नेपालको टिम सशक्त हुँदा मोरङमा ढकाल ओलीको विश्वास पात्र थिए । ओली शक्तिशाली भएपछि ढकाल किनारामा परेका थिए ।
























