
काठमाडौं । गणतन्त्र पक्षधर र राजवादीले आज (शुक्रबार) काठमाडौंका अलगअलग स्थानमा प्रदर्शन गर्दैछन् । गणतन्त्रवादीका तर्फबाट वर्तमान व्यवस्थाको पक्षमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने छ ।
राजवादीका तर्फबाट अहिलेको व्यवस्थाविरुद्ध पूर्वराजाका समर्थकले प्रदर्शन गर्ने छन् । परस्पर विरोध २ पक्षको प्रदर्शनमा एकअर्काको भेट हुन नदिने नीति अख्तियार गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रदर्शनका क्रममा कुनै पनि अप्रिय घटना हुन नदिन त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको हो । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनका क्रममा राजावादीलाई चक्रपथ (रिङरोड) प्रवेश गर्न नदिने र गणतन्त्र पक्षधरलाई चक्रपथभित्र सीमित गर्ने रणनीति प्रशासनको छ ।
स्थानीय प्रशासनले गणतन्त्र पक्षधर समाजवादी मोर्चालाई भृकुटीमण्डपमा र राजावादीलाई तीनकुने क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिएको छ । समाजवादी मोर्चाको भक्तपुरतिरबाट आउने समर्थक सवार गाडीलाई प्रहरीले ‘डाइभर्सन’ गरेर कोटेश्वरबाट बालकुमारीतर्फ पठाउने छ ।
मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्न सक्ने छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन् । जिल्ला सुरक्षा समितिले सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई अनुमति दिएको छ ।
त्यस्तै, राजावादीको कलंकीतर्फबाट निस्किने जुलुस बल्खु, सातदोबाटो, ग्वार्को, कोटेश्वर हुँदै तीनकुने पुग्ने छ । भक्तपुरतर्फबाट सुरु हुने जुलुस कोटेश्वर हुँदै तीनकुने र अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुग्ने छ । जुलुस निकालेर गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने पुग्ने गरी राजावादीका लागि ‘रुट’ तय गरिएको छ ।
दुवै पक्षको जम्काभेट र मुठभेडको स्थितिलाई रोक्न प्रशासनले विशेष रणनीति अपनाएको छ । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आबद्ध छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा तीनकुनेमा गर्न लागिएको प्रदर्शनमा अन्य राजावादी दल पनि जोडिने भएका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्ने बताइसकेको छ । सुवेदी नेतृत्वको समितिले शुक्रबारको प्रदर्शनको कमान्डर नै प्रसाईंलाई तोकेको छ ।
संयुक्त जनआन्दोलन समितिले १ साताभित्र आफ्ना शान्तिपूर्ण आग्रहलाई स्वीकार गर्न अल्टिमेटम दिएको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा आन्दोलनलाई चैत २१ गतेदेखि थप सशक्त बनाउँदै लैजाने घोषणा गरेका छन् ।
उक्त समितिले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन गणतन्त्रवादी दलहरूलाई आह्वान गरेको छ । २०७२ सालको संविधानमा रहेका सकारात्मक प्रावधानलाई समेट्दै २०४७ सालको संविधानलाई आधार मानेर प्रमुख राजनीतिक पक्षहरूबीच सहमति बन्नुपर्ने चाहना राजावादीको छ ।
राप्रपाले पनि केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमै राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरिसकेको छ । चैत १२ गते आन्दोलन परिचालन मूल समिति बैठक गरेर राप्रपाले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने र वैशाख ७ देखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने घोषणा गरिसकेको हो ।
राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि हुने सबै खालका आन्दोलनलाई समर्थन गर्ने निर्णयसमेत गरिसकेको छ । राप्रपाले समान उद्देश्य र विचार भएका राजनीतिक दल, संयुक्त जनआन्दोलन समिति, विभिन्न संघ संगठनहरूसँग सहकार्य, कार्यगत एकता वा मोर्चा गठन गरी आन्दोलनका कार्य अघि बढाइने निर्णय गरेको थियो ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा प्रहरी खटाउने भएको छ । प्रदर्शनस्थलमा भने एसपी अपिलराज बोहराको नेतृत्वमा प्रहरी रहने छ । आवश्यकता अनुसार ‘कमान्ड सेन्टर’ र ‘फिल्ड’को सुरक्षा व्यवस्था मिलाइने छ ।
सुरक्षा अवस्था मजवुत बनाउन सशस्त्र प्रहरी पनि ठूलो संख्यामा परिचालन गरिएको छ । सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धानलाई पनि खटाइने छ । प्रदर्शनका क्रममा हुनसक्ने सम्भावित अवैध गतिविधि एवं घुसपैठ नियन्त्रण गर्न सादा पोसाकमा समेत सुरक्षाकर्मी खटाइएको छ ।
प्रदर्शनका क्रममा राजावादीबाट सुरक्षाका सबालमा केही चुनौती हुनसक्ने विश्लेषण सुरक्षा निकायको छ । सुरक्षा निकायले राजावादी समूहलाई बढी निगरानीमा राख्ने छन् । राजावादीका गतिविधि करिब १ सातादेखि सुरक्षा निगरानीमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने दुवै पक्षको प्रदर्शनमा सहभागी नहुने भएको छ । वर्तमान सरकारको विरोधमा हुने जुनसुकै शान्तिपूर्ण कार्यक्रममा आफ्नो पार्टी र नेतृत्वको सहभागिता एवं ऐक्यबद्धता हुने रास्वपाको भनाइ छ । तर, शुक्रबारको दुवै प्रदर्शन सरकार विरोधी भन्दा पनि व्यवस्थाको पक्ष र विपक्षमा भएकाले सहभागी नहुने रास्वपाले जनाएको छ ।
























