
काठमाडौं । काठमाडौंमा गणतन्त्रवादी र राजावादीले प्रदर्शनको अन्तिम तयारी गरेका छन् । प्रदर्शनको तयारीका लागि ठाउँ–ठाउँमा कार्यकर्ता एवं समर्थक भेला हुने क्रम सुरु भएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा हुन थालेका छन् । प्रदर्शन गर्दै उनीहरु आआफ्नो पक्षले आयोजना गरेको सभामा पुग्ने छन् ।
समाजवादी मोर्चाको आयोजनामा गणतन्त्रवादीको प्रदर्शन हुन लागेको हो । त्यस्तै, राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका राजावादीले पनि प्रदर्शनको तयारी गरिरहेका छन् ।
सभाका लागि गणतन्त्रवादीलाई प्रदर्शनीमार्ग र राजावादीलाई तीनकुने क्षेत्र छुट्याइएको छ । दुवै ठाउँमा मञ्च तयार भइसकेका छन् ।
बबरमहल, कुपण्डोल, कलंकी, बालाजुलगायतका क्षेत्रमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाका कार्यकर्ताहरु जम्मा हुन थालेका छन् । समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन र सभा गर्न लागेको हो ।
राजावादीहरुले गणतन्त्रात्मक व्यवस्थाविरुद्धमा प्रदर्शन गर्न लागेका हुन् । राजावादीहरुको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने पुग्ने छ ।
























