
काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर आगामी आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
विपक्षी दलहरूसँग कुरा नमिलेपछि शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्न सकेन । दिउँसो १ बजेसम्मलाई सूचना टाँसेर स्थगित गरिएको थियो ।
तर, त्यो समयसम्म पनि कुरा मिल्न नसकेपछि आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै बुधवारदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।
राष्ट्रियसभा बैठकमा पनि विपक्षीले अवरोध गर्दै आएका छन् । घिसिङलाई सरकारले पदबाट हटाएको प्रकरणमा विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले भने सदनमा जवाफ नदिने सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । विपक्षीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदनको अवरोध कायम राख्ने बताउँदै अडान कायम राखेका छन् ।
पटक–पटक भएका बैठकमा दुवै पक्ष आ–आफ्ना अडानबाट टसमस नहुँदा समस्याको निकास निस्कन सकेको छैन । सभामुख देवराज घिमिरेले बिहान ११ बजे बोलाएको प्रमुख दलका प्रमुख सचेतकहरूको बैठकमा पनि दुवै पक्ष आआफ्नो अडानमा बसेका थिए ।
























