
काठमाडौं । काठमाडौं तीनकुने तनावग्रस्त बनेको छ । राजावादी प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् भने, स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
प्रदर्शनकारीले गरेको आक्रमणमा परेर १ सशस्त्र प्रहरी महिलाको टाउको फुटेको छ । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी पनि भएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार तीनकुनेको स्थिति नियन्त्रणको प्रयास भइरहेको छ ।
घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो । त्यसपछि आगो निभाउन नसकी दमकल फर्किएको छ ।
काठमाडौं तिनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनस्र्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर प्रहरीसँगको धकेलाधकेलले गर्दा तनाव बढेको थियो ।
























