
काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् ।
प्रेस सेन्टरको नेतृत्व चयनका लागि मतदान भएको थियो । अन्तिम मतपरिणाम अनुसार ३ सय ६६ मत ल्याएर अध्यक्षमा गिरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १ सय ७५ मत मात्रै पाए । यसअघि गिरी वरिष्ठ उपाध्यक्ष र रावल उपाध्यक्ष थिए ।
सेन्टरको वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी सुदीप बर्देवा १ सय ११ मतमा रोकिए । सेन्टरको महासचिवमा मनोज घर्तीमगर ३ सय ७९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी दीपेन्द्र शर्माले १ सय ४५ मत मात्रै पाए ।
उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का तथा विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश विक, उपमहासचिव मधेशीमा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन निर्विरोध निर्वाचित भए ।
यस्तै, उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल १ सय ६५ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी बोमलाल गिरीले १ सय ५६ मत पाए । खुला सचिवमा सुरेन्द्र चालिसे र सन्तोष देउजा तथा सचिव महिलामा अञ्जली थापा र सचिव समावेशीमा अवतार राई निर्वाचित भएका छन् ।
प्रदेशबाट निर्वाचित हुने सचिवमा कोशी प्रदेशबाट दीपेन्द्रकुमार राई, मधेश प्रदेशबाट सुनिता बराल, बागमती प्रदेशबाट मीनकुमार दाहाल, गण्डकी प्रदेशबाट दीपक भट्टराई, लुम्बिनी प्रदेशबाट मानसिंह विक, कर्णाली प्रदेशबाट गाणेशकञ्चन भारती र सुदूरपश्चिम प्रदेशबाट राजेन्द्र अवस्थी निर्विरोध निर्वाचित भएका छन् । भूगोलबाहेक उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल र एशोसिएट प्रदेशबाट नन्दलाल तिवारी निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा भएको निर्वाचनमा वसन्त गिरी निर्वाचित भएका छन् । पदाधिकारीबाहेक प्रदेशबाट आउने केन्द्रीय सदस्य, आरक्षणबाट आउने केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी एवं सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।
२९ जनाको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवसहित विभिन्न १२ पदका लागि निर्वाचन भएके थियो । १७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
प्रेस सेन्टरको लेखा समिति संयोजकमा अमृतराज तिवारी र सचिवमा भीम राई तथा अनुशासन समिति संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्ण लेकाली निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनमा ८ सय २१ जना प्रतिनिधि रहेकोमा ५ सय ५१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।


























