
काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्ने भएका छन् ।
उक्त सम्मेलनमा सहभागी हुन ओली चैत १९ गते थाइल्याण्ड गएका थिए । थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको निमन्त्रणामा बैंकक पुगेका प्रधानमन्त्रीले भ्रमणबाट २ मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।
नेपाल र थाइल्याण्डबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध छ । तर, नेपालका तर्फबाट सरकार प्रमुखको पहिलो औपचारिक थाइल्याण्ड भ्रमण भएको ।
यस क्रममा प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राको उपस्थितिमा ८ बुँदे समझदारी भएको थियो । प्रधानमन्त्री ओली चैत २३ गते अर्थात शनिबार स्वदेश फर्कने छन् ।

























